‘अवतार ५’ हेर्न दर्शकले ८ वर्ष पर्खनु पर्ने

हलिउड निर्देशक जेम्स क्यामरुनको चलचित्र ‘अवतार’का सिरिज दर्शकका लागि प्रतिक्षाको विषय हुन् ।

यो फ्रेन्चाइजीमा कुल पाँच चलचित्र छन्, जसमा दुई रिलिज भइसकेका छन् भने बाँकी तीन फ्रेन्चाइजीले रिलिजको मिति सार्वजनिक गरिसकेका छन् । ‘अवतार २’ गत वर्षको डिसेम्बरमा रिलिज भएको थियो ।

यो सिरिज ओटीटी प्लेटफर्मममा पनि आइसकेको छ । तर बाँकी सिक्वेलको रिलिज तोकिएकै समयमा नहुने भएको छ । बाँकी सिरिजको रिलिज मिति निर्माण पक्षले एक वर्ष पछाडि सारेका छन् ।

जस अनुसार ‘अवतार ३’ डिसेम्बर १९, २०२५ मा रिलिज हुनेछ । यसअघि यो फिल्म २०२४ मा रिलिज हुने थियो । यो सिरिज ‘अवतार–द वे अफ वाटर’को फलोअप हो । नयाँ क्यालेन्डर अनुसार ‘अवतार ४’ तेस्रो चलचित्रको चार वर्षपछि २१ डिसेम्बर २०२९ मा रिलिज हुनेछ । यो फिल्म यसअघि सन् २०२६ मा आउने चर्चा थियो ।

‘अवतार’को अन्तिम चलचित्र ‘अवतार ५’ का लागि दर्शकले ८ वर्ष पर्खनु पर्नेछ । यो फिल्म सन् २०३१ डिसेम्बर १९ मा रिलिज हुनेछ । ‘हरेक अवतार चलचित्र आफैमा एक जोशिलो र अद्भुत अनुभव हो । यसलाई गुणस्तरका साथ पर्दामा ल्याउन समय लाग्छ । जसका लागि हामी चलचित्रकर्मी जुटिरहेका छौं । ताकि दर्शकको आशामा खरो उत्रन सकौं । टीम आफ्नो काममा कडा मेहनत गरिरहेका छन् ।

डिसेम्बर २०२५ मा दर्शकलाई फेरी पेण्डोरामा लैजानका लागि हामी प्रतिक्षामा छौं’, निर्माता जोन लेन्डाउले ट्वीट गरेका छन् ।


ताजा खबर