किरण नेपालीको निर्माण तथा सिमोस सुनुवारको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘हात्तीछाप’को आजबाट छायांकन सुरु भएको छ ।
बालकुमारीमा रहेको एक ग्यारेजबाट यो चलचित्रको छायांकन सुरु भएको हो । छायांकन अगाडि चलचित्रका कलाकारहरुले क्यामेरा पुजा गरेका थिए ।
सामाजिक कथावस्तुलाई कमेडी तरिकाले प्रस्तुत गरिने यो चलचित्रलाई एक महिना खिचिने निर्माता नेपालीले जानकारी दिए । उनका अनुसार, यो चलचित्रको छायांकन १५ दिन काठमाडौं र १५ दिन पोखरामा हुनेछ ।
चलचित्र ‘हात्तीछाप’मा प्रदीप भारद्धाजको लेखन, सुशान्त प्रजापतिको छायांकन छ । चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, वुद्दि तामाङ, बिजय बराल, विल्सन विक्रम राई, कमलमणी नेपाल, राजन खतिवडा, पुस्कर गुरुङ, प्रकाश घिमिरे, विनोद न्यौपाने, कविता आले, रविन्द्र झा, रियर राई लगायतका कलाकारको अभिनय रहनेछ ।
नायिका बेनिशा हमालले पहिलो पटक दयाहाङ राईसँग चलचित्रमा काम गर्न पाउँदा आफू अत्यन्तै उत्साहित रहेको बताइन् । नायक दयाहाङ राईले फिल्मको कन्सेप्ट आफूलाई निकै मन परेकाले काम गर्न लागेको बताए ।