निर्देशक दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्म ‘हनी बनी’को फर्स्ट लुक पोस्टर सार्वजनिकसँगै प्रदर्शन मिति घोषणा गरिएको छ ।
लभ स्टोरी फिल्मको सोमबार सार्वजनिक फर्स्ट लुकमा भारतीय मोडल अभिमन्यु तोमर र अभिनेत्री जसिता गुरुङ रोमान्टिक रूपमा प्रस्तुत गरिएको छन् । अभिमन्युको यो पहिलो फिचर फिल्म हो ।
भारतको दिल्लीमा जन्मिएका अभिमन्युले केही हिन्दी गीतमा अभिनय गरेका छन् । उनले अभिनय गरेको ‘याद पिया के आने लगी’ गीत सर्वाधिक चर्चित छ । यही गीतबाट उनले मोडलको रूपमा आफ्नो करिअर सुरुवात गरेका हुन् । अध्ययन, घुमफिर र पौडीका सौखिन उनले बलिउड फिल्ममा भने ब्रेक पाइसकेका छैन । ‘हनी बनी’ले बलिउड प्रवेशको बाटो खुलाउने उनको विश्वास छ ।
आगामी माघ २६ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको यस फिल्मलाई एबी इन्टरनेशनल र गौतम प्रोडक्सन एण्ड भ्वाइस फिल्म्ससँग सहकार्य गरेर निर्माण गरेको हो । फिल्मका निर्मातामा अमित बस्नेत, परी राना र आरोन बस्नेत रहेका छन् भने सह-निर्माता अजित थापा र सनिस खकुरेल छन् ।
अंकित गौतम कार्यकारी निर्माता रहेको फिल्मको सुरज कुँवर र अजित पल सिंह एसोसिएट निर्माता हुन् । निर्माता अमित स्वयंको फिल्ममा पटकथा लेखन रहेको छ ।
फिल्ममा सूर्यमाला खनाल, सलोन बस्नेत, अजुनजंग शाहीलगायतको पनि अभिनय छ । फिल्मको छायांकन अघिल्लो वर्षको जेठमा लण्डनमा भएको थियो ।
यसअघि कम्पनी एबी इन्टरनेशलले ‘पासवर्ड’ र ‘सम्हालिन्छ कहिले मन’ फिल्म निर्माण गरिसकेको छ भने अर्के नयाँ फिल्म ‘लण्डन टू पेरिस’ प्रदर्शनको तयारीमा छ । यो कम्पनी विदेशी फिल्म वितरणमा पनि सक्रिय रहँदै आएको छ ।