फिल्म ‘पशुपति प्रसाद ३’ निर्माणको घोषणा गरिएको छ ।
आज शुक्रबार काठमाडौंमा ‘पशुपति प्रसाद २’को सफलताको सेलिब्रेसन कार्यक्रममा ‘पशुपति प्रसाद ३’ निर्माणको घोषणा गरिएको हो ।
फिल्मको कथा खगेन्द्रले नै लेख्नेछन् भने निर्देशनको जिम्मा दीपेन्द्र के खनाललाई नै सुम्पेका छन् । फिल्ममा रोजिना सिटौलाको लगानी रहनेछ ।
फिल्मले ‘पशुपति प्रसाद’कै कथालाई अगाडि बढाउने निर्माणपक्षले बताएको छ । फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’ रिलिज भएको चौथो हप्तामा सफलताको केक काट्दै तेश्रो सिक्वेल निर्माणको घोषणा गरिएको हो ।
पत्रकार सम्मेलनमा फिल्मका लेखक खगेन्द्र लामिछानेले अपुरा र छाडिएका पात्रको कथा पूरा गर्नुपर्ने भन्दै दर्शकहरुको सबै जिज्ञासा र चाहनालाई समेटेर तेश्रो सिक्वेल बनाउने घोषणा गरेका हुन्।
फिल्मका लेखक तथा मुख्य कलाकार खगेन्द्र लामिछानेले भने–‘दोश्रो सिरिजमा थुप्रै पात्रहरु छरिएका छन् । अब, यी सबै पात्रहरुलाई एक ठाउँमा समेट्ने जिम्मा पनि हाम्रै हो । दर्शकले पनि तेश्रो सिरिज निर्माणको माग गर्नु भएको छ । यसैले, हामीले यसको तेश्रो सिक्वेल बनाउने तयारी गरेका हौं ।’
निर्देशक खनालले भने- ‘हामीले ‘पशुपति प्रसाद’मा जुन कथा सुरु गरेका थियौं, त्यसलाई टुंग्याउनुपर्छ भन्ने हाम्रो निर्कौल हो । पहिलो र दोस्रो श्रृंखलामा कथा र पात्रहरु छरिएका छन् । त्यसैले हामीले उठाएको कथालाई हामीले नै टुंग्याउनुपर्छ ।’
फिल्ममा पहिलो र दोस्रो श्रृंखलाका को-को कलाकार दोहोरिन्छन् भन्ने अहिले तय नभैसकेको निर्देशक खनालले बताएका छन् ।
फिल्मलाई आगामी वर्ष छायांकन गरेर त्यही वर्ष रिलिज गर्ने तयारीमा निर्माण टिम रहेको छ ।
फिल्मका वितरक अशोक शर्माले यस्तो परिस्थितीमा पनि फिल्मले राम्रो व्यापार गरेको बताए । उनले भने–‘थुप्रै फिल्मले त पोष्टरको पैसा समेत उठाउँदैनन् । पशुपति प्रसाद २ः भष्मे डनले अपेक्षा गरे अनुसारको व्यापार नगरेको पक्का हो । तर, यसले गरेको व्यापारलाई सुखद मान्नुपर्छ ।’
फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’मा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का लगायतका कलाकारको मुख्य भूमिका छ । कार्तिक ४ गतेबाट रिलिजमा आएको यो फिल्म चौथो हप्तामा हलमा चलिरहेको छ ।