अभिनेता सुशील श्रेष्ठको मुख्य भूमिका हुने चलचित्र ‘द आउट ल’को निर्माण घोषणा गरिएको छ । रेट्रो गु्रपको व्यानरमा निर्माण गर्न लागिएको टिमले अंगेजी नयाँ वर्षको छेको पारेर यो चलचित्र निर्माण गर्ने घोषणा गरेको हो । साथै, चलचित्रको थिम टिजर र फस्टलुक पोस्टर समेत सार्वजनिक गरिएको छ ।
अभिनेता सुशील श्रेष्ठ, शिक्षा संग्रौला, नरेश पौडेल, सुमन भण्डारी, हेम गुरुङ, विशाल पहारी, महेश त्रिपाठी, लगायतका कलाकारको मुख्य भुमिका रहने चलचित्र पूर्ण एक्सन–थ्रिलर जनरामा निर्माण हुनेछ । विक्की महर्जनको निर्देशनमा निर्माण हुन लागेको यो चलचित्रले कानुन नमान्ने व्यक्तिको कथा बोल्नेछ ।
कोरोना महामारीपछि अभिनेता सुशीलको लागि यो कमब्याक प्रोजेक्ट हो । सन् २०१५ मा होस्टेल रिटन्र्सबाट अभिनय करिअर सुरु गरेका सुशीलले सायद २, कारखाना र बादशाह जुटमा पनि अभिनय गरेका छन् ।
शशांक खड्का र अमित अग्रहरीको लगानीमा निर्माण हुने यस चलचित्रका कार्यकारी निर्माता विनोद कडायत हुन् । कडायत फिल्म प्रेम गीत ३ का आर्ट डिरेक्टर समेत हुन् ।
निर्माता शशांक खड्काले चलचित्रको छायांकनका लागि सम्पुर्ण तयारी पुरा भएको बताए । उनले जनवरी जनवरी ५ बाट निर्माण टिम फ्लोरमा निस्कने जानकारी दिए ।
उनले भने, ‘चलचित्रको कथा असाध्यै दमदार छ । युथ टार्गेट स्टोरी कथामा निर्माण हुने चलचित्र मेकिङ टिममा धेरैजसो पढेका र युथ भएकाले चलचित्रको आउटपुट राम्रो निस्कने विश्वास छ ।’
नविन गुरुङ चलचित्रका डिओपी हुन् । २ करोड हाराहारी बजेट खर्च हुने अनुमान गरिएको यो चलचित्र आगामी बर्षको दशैंमा प्रदर्शन गर्ने निर्माण टिमको तयारी छ ।