‘मोदीबेनी’को शुभमुहूर्त गर्दै छायांकन सुरु, वर्षाले अमरसँग स्क्रिन शेयर गर्दै

फिल्म ‘मोदीबेनी’को शुभमुहूर्त गर्दै छायांकन सुरुवात गरिएको छ ।

मङ्गलवार काठमाडौँको कमलादीस्थित गणेश मन्दिरमा पूजा गरेर शुभमुहूर्त गर्दै फिल्मको युनिट छायाङ्कनमा निस्किएको हो ।
यस फिल्ममा अभिनेत्री वर्षा सिवाकोटीले नव अभिनेता अमर प्रताप श्रेष्ठसँग स्क्रिन शेयर गर्दै छिन् ।

अभिनेत्री वर्षले मुहूतका अवसरमा भनिन्, “मेरो भूमिका आजसम्म मैले गरिरहेको भन्दा एकदमै भिन्न छ । कथावस्तु पनि चलनचल्तीका फिल्महरूको भन्दा फरक रहेको छ । यो फिल्म एक नयाँ प्रयोग पनि हुनसक्छ । दर्शकले पनि केही फरक नै खोजिरहनुभएको छ । त्यसको लागि यो फिल्म उदाहरण बन्न सक्छ ।”

सिवाकोटीले पहिलो पटक स्क्रिन शेयर गर्न लागेका नव अभिनेता श्रेष्ठले ओजस थिएटरमा दुई वटा नाटकमा प्रमुख भूमिकामा अभिनय गरेका श्रेष्ठले केही विज्ञापन तथा ’प्रीतको रित’ नामक वेब सिरिजमा प्रमुख अभिनय गरेका छन् । अभिनेता श्रेष्ठले आफू पूर्ण रूपमा फिल्मको लागि तयार भएर अभिनयमा होमिन लागेको बताए ।

यसै फिल्मबाट झण्डै ९ वर्ष अन्तरालपछि अभिनेत्री रेजिना उप्रेतीले कमब्याक गर्दैछिन् । उनले पछिल्लो फिल्म ’वरदान’मा ’लिड रोल’मा अभिनय गरेकी थिइन् । उप्रेतीले यस फिल्ममा कलाकार दिलीप केसीसँग स्क्रिन शेयर गर्नेछिन् । उप्रेतीले यसबिचमा आफूलाई अफर आएका फिल्महरूमा भूमिका मन नपरेर अभिनय नगरेको बताइन् । यस फिल्ममा आफूले अहिलेसम्म नगरेको सशक्त भूमिकामा अभिनय गर्न लागेको रेजिनाले बताइन् । अभिनेता दिलीप केसीले समाज परिवर्तनको लागि क्रान्ति गर्ने पात्रको भूमिकामा आफूले अभिनय गर्न लागेको बताए ।

अभिनेता सरोज खनालले पनि फिल्ममा प्रमुख भूमिका निभाउनेछन् । चलचित्रमा अमर, सरोज, रेजिना, वर्षा, दिलीपका अलावा कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेह भट्टराई, लाबिस लगायतको अभिनय रहनेछ । प्रमुख कलाकार अमरसहित अन्य केही कलाकारहरू अडिशनमार्फत् समेत छनोट गरिएको हो ।

फिल्मका निर्देशक शङ्कर कोइरालाले यो फिल्म पर्वत जिल्लाको सेरोफेरोमा घटेको घटनामा आधारित रही सामाजिक कथामा बन्ने बताए । डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बन्ने यो फिल्मलाई आनन्द बिक्रम क्षेत्रीले लेखेका छन् । फिल्ममा दिलीप के.सी. निर्माता र हरि श्रेष्ठ सह–निर्माता रहेका छन् । करिब पैँतिस–चालिस वर्ष पहिले र हालको कथालाई मिश्रण गरी बनाइने यो चलचित्रले पर्वत जिल्लाको मोदीबेनी क्षेत्रको कथा भन्नेछ ।

फिल्ममा उत्सव दाहालको डिओपी, दिपेन्द्र गौतम (माइकल)को प्रोडक्शन डिजाइन, श्याम बरालको मेकअप, गिता पौडेलको हेयर डिजाइन, भिम श्रेष्ठको ड्रेस डिजाइन र सगुन तामाङको प्रमुख सहायक निर्देशन रहनेछ ।


ताजा खबर

No comments to show.