पोखरामा ‘दयारानी’को प्रिमियर शो

आइतबार पोखराको मिडटाउन सिनेमाजमा आगामी शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘दयारानी’को प्रिमियर गरियो ।

फिल्म हेर्न पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, गण्डकी प्रदेशका पूर्वअर्थमन्त्री किरण गुरुङ, मादी गाउँपालिकाका अध्यक्ष देवीजङ्ग गुरुङ, कवि रमेश श्रेष्ठ, कलाकार प्रकाश घिमिरे, गायक तथा संगीतकार राजनराज सिवाकोटी, ‘दयारानी’का लेखक तथा निर्देशक माओत्से गुरुङ, अभिनेत्री दिया पुन लगायतको उपस्थिति थिए । मेयर धनराज आचार्यले पोखरामा पछिल्लो समय एकपछि अर्कोे साहित्य, कला र फिल्म क्षेत्रका गतिविधिहरु भइरहेको देख्दा खुशी लागेको बताए ।

पूर्व अर्थमन्त्री किरण गुरुङले फिल्म हेरिसकेपछि भने, ‘माओत्से गुरुङ कलाकारितासँगै निर्देशन र लेखनमा समेत अब्बल ठहरिनुभएको छ । निःसन्तान हुँदा घरपरिवार र समाजले हेर्ने दृष्टिकोणलाई फिल्ममार्फत उजागर गर्न खोजिएको रहेछ । सिनेमाको कथा उत्कृष्ट छ । फिल्ममा पात्रले निभ्याएको भूमिका तारिफ योग्य छ ।’

मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङले आफ्नो गाउँपालिकाको याङ्जाकोटमा छायांकन गरिएको ‘दयारानी’मार्फत यो ठाउँको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास लिएका छन् ।

निर्देशक तथा लेखक माओत्से गुरुङले कलाकार भएर अभिनय गर्नुभन्दा बढी निर्देशनमा गाह्रो हुने अनुभव सुनाए । उनले भने,–‘कलाकार भएर थुप्रै फिल्ममा अभिनय गरिएको छ । अभिनयमा त्यति अप्ठ्यारो लाग्दैन जति निर्देशनमा लाग्छ । निर्देशन गर्दा जिम्मेवारी हुन्छ ।’

अभिनेत्री दिया पुन पनि ‘दयारानी’बाट आशावादी देखिइन् । यो फिल्मले आफ्नो कलाकर्ममा अगाडी बढ्न सहयोगी हुने विश्वास व्यक्त गरिनन् । फिल्ममा रानीको भूमिकामा रहेकी दियाले माओत्से गुरुङको निर्देशनमा सामाजिक परिवेशलाई फिल्मको पर्दामा ल्याइएकाले यो चरित्रमा अभिनय गर्न पाउँदा नौलो लागेको बताइन् ।

बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा शैलेन्द्रध्वज कार्कीका छायाङ्कन छ । फिल्ममा दयाहाङ र दीयाका अलावा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले, शिरिषा कुँवर, नयन गुरुङ, सुर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ र क्रिष्टी गुरुङ लगायतका कलाकार पनि अभिनय छ ।

मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् । सिनेमाको कास्टिङ डारेक्टर मणिराम पोखरेल हुन् । फिल्मलाई नेपालमा प्रचण्डमान श्रेष्ठको कम्पनी टिफल्क फिल्मस् र विदेशमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्नेछ ।


ताजा खबर