देशभरका हलमा ‘दयारानी’लाई ११३, ‘हात्तीछाप’लाई १६४ शोज

शुक्रबारदेखि रिलिजमा आउन लागेका दुई नेपाली फिल्म ‘हात्तीछाप र दयारानी’ माथि प्रदर्शकको उच्च आशा देखिएको छ । यसैले, यी दुबै फिल्मलाई नेपालभरका प्रदर्शकले उच्च शोज उपलब्ध गराएका छन् । नयाँ हिन्दी फिल्म रिलिजको बाबजुत पनि यी दुबै फिल्मले देशभरका हलमा करिब ३ सय शोज प्राप्त गरेका छन् । जसमा, अझै केही सिंगल हलहरुको आँकडा यहाँ समावेश गरिएको छैन ।

सिमोस सुनुवारको निर्देशनमा किरण नेपालीको प्रस्तुतिमा तयार भएको फिल्म ‘हात्तीछाप’ले देशभरका मल्टिप्लेक्समा १६४ शोज पाएको छ । सिंगल हलको समेत शोज हेर्दा फिल्मले करिब २ सय शोज पाएको छ । यस्तै, अर्को फिल्म ‘दयारानी’लाई देशभरका मल्टिप्लेक्सले ११३ शोज उपलब्ध गराएका छन् । माओत्से गुरुङको निर्देशनमा तयार भएको यो फिल्मबाट पनि प्रदर्शकहरुले उच्च आशा राखेको देख्न सकिन्छ ।

दुबै फिल्मले दर्शकको उच्च साथ पाउने अपेक्षा गरिएको छ । केही महिनादेखि नेपाली फिल्मले हलमा राम्रो व्यापार नगरिरहेको समयमा यी दुई फिल्मबाट सिंगो फिल्म क्षेत्रले नै उच्च आशा गरेको छ ।

फिल्म ‘हात्तीछाप’मा कलाकारहरु दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बिजय बराल, पुस्कर गुरुङ, विल्सन विक्रम राई, बेनिशा हमाल लगायतका कलाकारको अभिनय छ । यस्तै, फिल्म ‘दयारानी’मा दयाहाङ राई र दिया पुनको मुख्य भूमिका छ ।


ताजा खबर