केकीको ‘बोक्सीको घर’को प्रदर्शन मिति घोषणा

अभिनेत्री केकी अधिकारीको मुख्य भुमिका रहेको फिल्म ‘बोक्सीको घर’को प्रदर्शन मिति घोषणा गरिएको छ । यो फिल्म आगामी वर्षको बैशाख १४ गतेबाट प्रदर्शनमा आउने भएको हो ।

केकीको होम प्रोडक्सनमा निर्माण भएको फिल्म बैशाखमा रिलिज गर्न लागेको जानकारी दिइन् । ८ वर्षअघि मञ्चन भएको चर्चित नाटक ‘बोक्सीको घर’माथि रहेर यो फिल्म निर्माण गरिएको छ । नाटककै लेखक एवं निर्देशक सुलक्षण भारतीले फिल्मलाई निर्देशन गरेका हुन् ।

फिल्ममा केकीका अलवा सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ । महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि रहेर फिल्म निर्माण भएको हो ।

सामाजिक-थ्रिलर जनरामा निर्माण भएको फिल्मले समाजमा प्रचलित कुप्रथालाई चित्रण गर्ने केकीले बताइन् । नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनमा आउने फिल्मलाई अन्तर्राष्ट्रिय फेस्टिभलमा समेत लैजाने योजना उनको छ ।

केकी स्वयंम निर्माता रहेको फिल्मको कार्यकारी निर्माता राजकुमार घिमिरे हुन् । लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको फिल्मलाई शिवराम श्रेष्ठले छायांकन, लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् । टिफल्क फिल्मसले यो फिल्मलाई वितरण गर्नेछ ।


ताजा खबर

No comments to show.