राज बहादुर सानेको निर्देशनमा बनिरहेको नयाँ नेपाली फिल्म ‘सिटामोल’ को छायांकन सम्पन्न भएको छ । निर्देशक सानेले काठमाडौंका केही दृश्य र गीतको छायांकन बाँकी राख्दै सम्पूर्ण छायांकन सिन्धुलीमा सकिएको बताएका छन् ।
फिल्मको छायांकन २५ दिनसम्म सिन्धुलीमा गरिएको हो । फिल्मको छायांकन सहज वातावरणमा रमाइलोसँग सकिएकाले फिल्म राम्रो बनेको निर्देशक सानेको भनाइ छ ।
अहिलेको अवस्थामा नै काम भएमा आगामी तीजमा फिल्म रिलिज लक्ष्य राखिए निर्माण टिमले जानकारी दिएको छ ।
फिल्मको छायांकन सकिएपछि निर्माण टिमले मुख्य कलाकार सौगात मल्ल र बेनिशा हमालका रोमान्टिक तस्विरसमेत सार्वजनिक गरेको छ । सार्वजनिक तस्विरले दर्शकमाझ फिल्मप्रति उत्साह पैदा गर्ने देखिन्छ ।
फिल्ममा उनीहरु श्रीमान्–श्रीमतीको रुपमा प्रस्तुत भएको बुझ्न सकिन्छ । माओवादी जनयुद्धको कथा फिल्मले उठान गरेको बुझिएको छ ।
तुलसी देवी फिल्मको ब्यानरमा निर्माण भएको यो फिल्ममा सौगात मल्लले जनयुद्धको घाइतेको भुमिका निवार्ह गरेका छन् ।
फिल्ममा सौगात र बेनिशासंगै लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, दिनेश रेग्मी, समिप निरौला, जानुका विश्वकर्मा, ज्ञानु सेञ्चुरी, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली र आराध्या राज्यलक्ष्मी डिसीको अभिनय रहेको छ ।
फिल्मको कथा निर्देशक साने स्वंयमले लेखेका हुन् । बाबुल गिरीको संगीत रहेको फिल्मलाई दिव्य सुवेदीले खिचि रहेका छन् । फिल्ममा भुगोल कुमार कार्की निर्माता, रामचन्द्र उपाध्यय, अप्सरा नेपाली, गंगाराम श्रेष्ठ, अजय कुमार बिक र कुमार केसी कार्यकारी निर्माता रहेका छन् ।