अमेरिकाभर ‘अगस्त्य च्याप्टर १’लाई दर्शकको साथ

फिल्म ‘अगस्त्य च्याप्टर १’को चर्चा नेपालसँगै विदेशमा पनि उतिकै रहेका छ ।

सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मको फस्टलुक, टिजर र ट्रेलर सार्वजनिक भएदेखि नै सबैको ध्यान केन्द्रित गर्न सफल भएको थियो । जसबाट विदेशी भूमिमा ‘अगस्त्य’ रिलिज भएसँगै दर्शकलाई चासोसँगै थप कौतुहलता पनि बढाइदिएको छ ।

फिल्म ‘अगस्त्य च्याप्टर १’लाई नेपाल जस्तै अमेरिकामा पनि दर्शकहरूको साथ पाउन सफल भएको छ ।

यो फिल्म मार्च १ शुक्रवारबाटै अमेरिकी बक्स अफिसमा प्रदर्शन भइरहेको छ । अन्तर्राष्ट्रिय नेपाली फिल्म वितरण कम्पनी, सेभेनसीज इन्टरटेनमेन्टले ‘अगस्त्य च्याप्टर १’लाई अमेरिकाका विभिन्न २० सहरमा यस हप्ता २०० भन्दा बढी शो सहित प्रदर्शन गराएको छ । जसमा अधिकांश शोहरूमा दर्शकको उल्लेख्य उपस्थिति रहेको थियो । शनिबारका शोहरू हाउसफुल रहन पुगे भने सोही आइतबार अमेरिकामा सार्वजनिक बिदाको कारणले हाउसफुलको निरन्तरता हुने आशा गरिएको छ । 

यो फिल्म अहिले डलास टेक्सास, ह्युस्टन टेक्सास, सान फ्रान्सिस्को क्यालिफोर्निया, ओहायो, नेब्रास्का, सिकागो, डेट्रोइट, पेन्सालभेनिया लगायतका ४ सहरमा प्रदर्शनरत छ । 

यस्तै, फिल्म आगामी शुक्रबारबाट न्यूयोर्क शहरको म्यानह्याटनमा रिलिज हुँदै छ । अमेरिका र क्यानडा क्षेत्रका लागि आधिकारिक वितरक नेपाल ११ इन्टरटेनमेन्ट र सेभेन सीज इन्टरटेन्मेन्टको भगिनी कम्पनीले रिलिजको दोस्रो हप्तामा कम्तीमा एक सय शोको अपेक्षा गरेको बताएको छ ।

फिल्मको प्राविधिक भाग, कथा र लगभग सबै कुरा अमेरिकाका मानिसहरूले मन पराए । सबै कुरा ठिक भएमा यसले अमेरिकी बजारमा नेपाली फिल्मको कीर्तिमान बनाउन बुझिएको छ ।

फिल्म हेरेपछि अधिकांश दर्शकले यसको मेकिङ, एक्सन, कथावस्तु भन्ने शैली र कलाकारको अभिनयको खुलेरै तारिफ गरेका छन् ।

फिल्म हेर्न पुगेका दर्शकहरूले नेपाली फिल्म क्षेत्रमा नयाँ खालको कथामा उच्च मेकिङका साथ फिल्मले नयाँ स्वाद दिएको प्रतिक्रिया दिएका छन् । दर्शकलाई यो फिल्मले सौगात मल्ल र नाजिर हुसेनको कामले प्रभावित बनाएको देख्न सकिन्छ । 

फिल्म हेरेर निस्कँदै गर्दा फिल्मको अन्त्य तिर को हो गणेश ? भन्ने सस्पेन्सले दर्शकहरू माझ थप एकखालको चासोको विषय बनेको पाइन्छ । जसअनुरूप निर्माणपक्षले बाँकी जानकारी पछि दिने भन्दै ‘अगस्त्य च्याप्टर २’ सन् २०२६ मा रिलिज गर्ने घोषणा गरेको छ ।

डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, निश्चल बस्नेत, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्रलगायतका कलाकारको अभिनय छ । 

विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता तथा प्रकाश मल्ल, अनिस तामाङ र विनोद पौडेल निर्माता रहेको फिल्ममा सञ्जय लामाको छायांकन, निर्देशक चौधरी स्वयंको लेखन, निमेष श्रेष्ठको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र एसडी योगीको संगीत छ ।


ताजा खबर