निश्चल बस्नेत र स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको फिल्म ‘बेहुली फ्रम मेघौली’ को छायाँकन सुरु भएको छ। बुधबार चितवनस्थित मेघौली गाउँको एक मन्दिरमा शुभमुहूर्त गर्दै चलचित्रको छायांकन सुरु गरिएको हो। फिल्मको सम्पूर्ण छायांकन मेघौली गाउँमा गरिनेछ।
यो फिल्मबाट नायिका स्वस्तिमा खड्का निर्मात्री बनेकी छिन् । स्वस्तिमाको यो पहिलो निर्माण हो। उनलाई श्रीमान निश्चलले निर्माणमा सघाउनेछन्।
साजन काफ्ले र आकाश बरालको संयुक्त निर्देशन रहने यो फिल्मबाट आकाश र साजन दुवैले निर्देशमा डेब्यु गर्दैछन्। यो फिल्मलाई ब्याक हर्स पिक्चर्स र मघौली फिल्म्सको ब्यानरमा निर्माण गर्न लागेको हो।
यो फिल्मको कार्यकारी निर्माता शंकर पाण्डे र फिरोज खड्का हुन् । फिल्ममा आकाश र साजनको संयुक्त लेखन छ । आकाशले यसअघि निश्चल निर्देशित फिल्मा ‘दिमाग खराब’को स्क्रिप्ट लेखेका थिए ।
आगामी वर्ष २०८१ को दशैंमा प्रदर्शन गर्ने तयारी गरिएको फिल्ममा विजय बराल, सिम्रन खड्का, आमिर गौतम लगायतका कलाकारहरुको अभिनय छ।