अर्जुन सुवेदी निर्देशन रहेको फिल्म ‘रङ्गेली’को प्रिमियर गरिएको छ। बुधवार काठमाडौंको बीग मुभिजमा आयोजना गरिएको प्रिमियर हेर्न फिल्मकर्मी, पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तिहरू पुगेका थिए ।
फिल्मको प्रिमियर प्राविधिक कारणले बेलुकी ८ बजे मात्र सुरु भयो। जसका कारण चलचित्रको प्रिमियर हेर्न आएका अतिथीहरुले करिब ८ घन्टा समय हलमा बिताउनु पर्यो । ३ घन्टा लामो रहेको फिल्मको प्रिमियर सकिदा रातको ११ बजेको थियो।
फिल्म प्रिमियरका लागि भनेर मुख्य नायक–नायिका दयाहाङ राई र मिरुना मगर पुर्वी रुकुमबाट काठमाडौं आइपुगेका थिए । प्रिमियरमा यसका मुख्य दुई कलाकार दयाहाङ राई र मिरुना मगर आकर्षणको रुपमा रहे ।
फिल्मको प्रिमियर हेरेका अधिकांशले यो चलचित्रको खुलेर नै तारिफ गरेका थिए । मोरङको रंगेली भन्ने ठाउँमा हुने ग्याङ स्टारको कथालाई यो फिल्मले प्रस्तुत गरेको छ ।
फिल्ममा सुशान्त गौतम र हर्कुलस बस्नेतको संगीत, सुशन प्रजापतिको छायांकन छ । जितेन्द्र खतिवडा र अनुज जंग थापा कार्यकारी निर्माता रहेको चलचित्रको संसार चौलागाई र रमेश भट्टराई निर्माता हुन् । युवक कार्की र शिव शंकर चौलागाई सह–निर्माता रहेको फिल्ममा विवेक खड्का एसोसियट निर्माताको रुपमा छन्।
दया र मिरुनाको अलावा फिल्ममा अर्पण थापाको मुख्य भूमिका छ । फिल्ममा प्रवीण खतिवडा, रमेश वुढाथोकीको पनि अभिनय छ ।