बोक्सीको नाममा महिलाले खेपेको पिडा ‘बोक्सीको घर’

आठ वर्षअघि मञ्चन भएको चर्चित नाटकमाथि निर्माण भएको ‘बोक्सीको घर’को टिजर रिलिज भएको छ। नारी दिवस तथा महाशिवरात्रिको अवसर पारेर नायिका केकीले यो फिल्मको टिजर रिलिज गरेको हो।

रिलिज गरिएको टिजरमा बोक्सी कुप्रथाको नाममा महिलामाथि हुने अन्याय र उत्पीडनलाई प्रस्तुत गरिएको छ। एउटा पतिले र गाउँ समाजले बोक्सी आरोप लगाएपछि महिला कसरी पीडित हुन्छिन् र यसबाट मुक्त हुन उनले के कस्तो संघर्ष गर्नुपर्छ भन्ने कुरालाई टिजरले बोल्छ।

राज घिमिरे कार्यकारी निर्माता रहेको यो फिल्मको निर्माता बद्री अधिकारी हुन् । सुलक्षण भारतीको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मलाई केकी अधिकारी फिल्मस्ले निर्माण गरेको छ । शिवराम श्रेष्ठको छायांकन रहेको यो फिल्ममा लोकेश बज्राचार्यको सम्पादन छ ।

नेपालसँगै विदेशमा पनि एकसाथ रिलिज हुने यो फिल्ममा केकीको साथमा सुपला सापकोटा, स्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतका कलाकारको अभिनय छ ।

फिल्म वैशाखको १४ गतेबाट अल नेपाल रिलिज हुँदैछ।


ताजा खबर