निर्देशक दीपक श्रेष्ठले नयाँ चलचित्रको निर्देशन गर्ने भएका छन् । केबल तामाङको प्रस्तुतिमा तयार हुने चलचित्रमा कोमल गुरुङको लगानी रहनेछ ।
यो चलचित्रमा दीपक श्रेष्ठको कथा तथा निर्देशन रहने पक्का भएको हो । सुरज आचार्य हेड अफ प्रोडक्शन रहने चलचित्रमा सौरभ लामाको छायांकन रहने पक्का भएको छ ।
यो चलचित्रको मुख्य भूमिकामा नायक दयाहाङ राई फाइनल भएका छन् । निर्माण पक्ष र दयाबिच आज यो चलचित्रका लागि सम्झौता भएको हो ।
फिल्मका लागि एक नायक र एक नायिका केही दिनमा फाइनल गरिने निर्माण पक्षले बताएको छ । चलचित्रको बारेमा निर्देशक श्रेष्ठले भने–‘यो चलचित्रलाई हामी लभ स्टोरी र कमेडी कथामा निर्माण गर्दै छौ । चलचित्रको छायांकन सिक्किम र इलाममा हुनेछ ।’ माघको २० गतेबाट चलचित्रको छायांकन गरिने प्रस्तुतकर्ता केबल तामाङले बताए ।
प्रोमिस इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण हुने चलचित्रमा तपश्री प्रोडक्शनको सहकार्य रहनेछ ।
चलचित्रले नेपाल र सिक्किमको पर्यटन प्रबद्र्धनमा टेवा पुर्याउने विश्वास निर्माण पक्षले लिएको छ । प्रस्तुतकर्ता तामाङले भने–‘पर्यटनका लागि सिनेमा’ भन्ने मुल नारा बोकेर हामी यो चलचित्र निर्माण गर्दैछौं ।