ब्रिटिस गोर्खा सैनिक (बेलायती सेना)ले लडाइँमा भोगेका सत्य कथामा आधारित फिल्म ‘गोर्खा वारियर’को विशेष च्यारिटी शो दिक्तेलमा सुरु गरिएको छ ।
खोटाङकै भूमिमा जन्मिएर ब्रिटिस आर्मी (बेलायती सेना)को विमान चालक क्याप्टेन रितेश चाम्सको मुख्य भूमिकामा निर्माण गरिएको फिल्म ‘गोर्खा वारियर’ यही फागुन २८ गतेदेखि चैत १ गतेसम्म दिक्तेलस्थित जिल्ला समन्वय समितिको समीक्षालय हलमा विशेष च्यारिटी शोको व्यवस्था गरिएको हो ।
दिक्तेलमा प्रदर्शन गरिएको फिल्म गोर्खा वारियरको च्यारिटी शोको पहिलो दिन हल भरिएको आयोजक नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद्का अध्यक्ष फुर्वा शेर्पाले जानकारी दिए । चार दिनसम्म सञ्चालन हुने विशेष च्यारिटी शोअन्तर्गत हरेक दिन बिहान ११, अपराह्न २ र बेलुका ५ बजे गरी तीन शो राखिएको आयोजकले जनाएको छ ।
खोटाङकै निर्माता र खोटाङकै नायकले तयार पारेको फिल्म गोर्खा वारियरको विशेष च्यारिटी शोअन्तर्गत पहिलो दिनको शोमा जिल्लास्थित उच्चपदस्थ व्यक्त सहभागी थिए । संविधानसभा सदस्य दुर्गाजयन्ती राई, जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, जिल्लास्थित स्थानीय तहका प्रमुख तथा जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिलगायतले अवलोकन गरेका छन् ।
यो फिल्मले पुर्खाहरुले भोगेका वास्तविक घटनालाई चित्रण गरेको पाइएको संविधानसभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य राईले बताए । फिल्म गोर्खा वारियर पुर्खाका इतिहास बुझ्न भावी पुस्ताका लागि सजिलो भएको दर्शकले प्रतिक्रिया दिएका छन् ।
फिल्मले पुर्खाहरुको वीरताको कथा र देशभक्तिलाई केन्द्रमा राखेर निर्माण गरिएको नायक क्याप्टेन रितेशले बताए । “फिल्म गोर्खा वारियरमा ७० वर्षअघिको इतिहासलाई देखाउन खोजिएको छ, युद्धमा गोर्खाली सेनाले भोगेका वास्तविक कथावस्तुमा आधारित भएर फिल्म निर्माण गरिएको हो”, उनले भने, “फिल्ममा गोर्खाली सेनामा आबद्ध रहेकाहरुको जीवनको भोगाइ र पीडालाई समावेश गरिएको छ, फिल्ममार्फत मौलिकपना देखाउन खोजिएको छ ।”
सोलुखुम्बुका पहाडी क्षेत्र, सर्वोच्च शिखर सगरमाथा, सिन्धुलीको दरबार क्षेत्रका साथै मलेसियामा छायाङ्कन गरिएको यो फिल्मका निर्देशक मिलन चाम्स हुन्। यो फिल्म नेपालीले हेर्नैपर्ने फिल्म बनेको निर्माता सुमन राईले दाबी गरे ।
गोर्खालीको इतिहास, बहादुरी, हाम्रा पुर्खाले भोगेको दुःख कष्ट र त्यसबेलाको नेपालको परिवेश झल्किने गरी फिल्म गोर्खा वारियर निर्माण गरिएको निर्देशक मिलनले बताए । “विगतमा नेपालीहरुले गोर्खा लाहुरे हुनुपर्ने बाध्यतालाई फिल्मको विषयवस्तु बनाइएको छ, फिल्म गोर्खा वारियरमा अभिनय, कला र मार्सलआर्टसमेत समेटिएको छ”, उनले भने, “फिल्म गोर्खा वारियर नेपाली फिल्म इतिहासमै सबैभन्दा बढी लगानीमा तयार भएको फिल्म हो, फिल्म गोर्खा वारियरमा लगानी गरेअनुसार दर्शकको मन जित्न पनि उत्तिकै सफल भएको छ ।”
लन्डनको आइम्याक्स सिनेमा घरमा प्रिमियर शो गरिएको फिल्म फागुन ११ गतेदेखि देशभर प्रदर्शन भइरहेको छ । फिल्म गोर्खा वारियर हङकङ, अमेरिका, दक्षिण कोरियालगायत ठाउँमा विशेष प्रिमियर शो गर्ने तयारी गरिएको निर्माता राईले जानकारी दिए ।
फिल्ममा नायक क्याप्टेन रितेशसँगै नायिका रेविका गरुङ, विजय लामा, कविता आले, रिअर राई, सुरज तमु, भुवनसिं राई, त्रिछु राई, दिग्गज खत्रीलगायत कलाकारको अभिनय छ । फिल्म गोर्खा वारियर ब्रिटिस एकेडेमी फिल्म एन्ड टेलिभिजन अवार्ड (बाफ्टा) मा पहिलो चरणमा छनोट भएको फिल्म हो ।