अपार्टमेन्टको कथाबाट सुरू हुन्छ, फिल्म उपहार। संर्घषका दिनमा अपार्टमेन्टमा बस्न गाह्रो छ। कुनै न कुनै उपाय अनिवार्य छ। सहरमा रहर छन्, महल छन्। सहरमा घर नजिक नजिक छन्, गाउँमा घर टाढा छन्। तर, माया गाढा छ।
रेखा थापा बसेको अपार्टमेन्ट आाइपुग्छन्, बेनिशा हमाल र पूजा शर्मा। अभिभावकत्व जिम्मेवारी निर्वाह गरेकी रेखाले उनीहरूको हरेक गल्तीमा साथ दिन्छिन्। पूजा छविलाई पैसा थुत्ने मनसायमा हुन्छिन्। छवि ‘प्ले ब्वाई’ कथामा छन्। छवि जति पनि खर्च गर्न तयार। यो समाज यस्तै छ, यौन जीवन आफूले गर्दा ठिक अरूले गर्दा बेठिक, औंला तेर्सिन्छ।
फिल्ममा गरिबी जीवनबाट हुर्किएकी पूजा शर्माले आफ्नो बाध्यता रहेको र कसैसँग हिँड्दैमा मस्किँदैमा ज्यान नसुम्पिएको दर्शाएकी छिन्। भन्नुको मतलव पुरुषहरू अर्काको कमजोरी र गरिबीमा खेल्न चाहन्छन्।
अपार्टमेन्टमा रेखा थापा, बेनिशा, पूजालगायत बस्छन्, त्यहाँ बिलासिताको मस्ती देखाइएको छ। मस्तीपछिको तनावहरू पनि उत्तिकै। हरदम रेखाले त्यहाँ आउने समस्यालाई आफ्नै समस्या ठानेर बहिनीहरूलाई संरक्षण गर्छिन्, सिकाउँछिन्। माया गर्छिन्। मुना पात्रकी रेखाले लक्ष्मीप्रसाद देबकोटाको कविताको भन्दा अझ यथार्थपरक भूमिका निभाएकी छिन् भन्दा फरक पर्दैन।
तर, निर्देशक ज्ञानेन्द्र देउजाले फरकपन दिएका छन्। मदन ल्हासाबाट फर्किँदा मुना मरिसकेकी हुन्छिन्, तर त्यहाँ मदन विदेशबाट घर अपाङ्ग भएर फर्किँदा मुनाले हेरविचार गर्दा मरेको कथा देखाइको छ। यो चलचित्र टिमको खुबी हो, कथा आफैं बनाउने हो। नत्र मुना-मदनको कथा चोरीको आरोप लाग्न सक्थ्यो।
काठमाडौंमा बाटो-बाटोमा चिया बेच्दै गरेकी रेखासँग मदनको भेट हुन्छ, मदन अर्थात् मुकन। चिया खाँदै गरेका मुकुनको विस्तारै-विस्तारै रेखासँग चियारंग भन्दा गाढा माया हुन्छ। ट्याक्सी चालक मदनले रेखालाई चिया हाउस खोल्न सुझाव दिन्छन्। त्यो सपना पूरा गर्न विदेश जाने, कमाउने सपना देखाउँछन् मदनले। चियाभन्दा गाढा माया छ भन्दै गर्दा गुन्डाहरूको उपस्थिति रहन्छ।
उनीहरू भन्छन्, चिया पसल नि हामी समाल्छौं, तिम्रो मुना पनि।
त्यहाँ झगडा हुन्छ। रेखा छ महिनाकी गर्भवती हुँदा पनि उनको एक्सन फाइट हेर्न लायकको छ। चलचित्र उपहार दिएकी रेखाको जोखिमलाई जति तारिफ गरे पनि साध्य छैन। त्यहाँ मदनको गाडी जलाइन्छ, गुन्डाहरूबाट। मदन रुन्छन् – मैले किस्तामा निकालेको गाडी, कसरी अब किस्ता तिर्ने?
रेखा भन्छिन्- हारेको छैनौं, मरेको छैनौं, म छु नि।
मदन विदेश जान्छन्, रेखाले लक्ष्मण रेखा तोड्दिनन्। पूजा, बेनिशाको मोजमस्ती लफडा त छँदैछ। सडकमा चिया पसल खोलेकी मुना (रेखा) भव्य महलमा चिया पसल खोल्छिन्। व्यापार पनि राम्रो चल्छ। अरूको लफडा समस्या मिलाँउदै फिल्म चलिरहकै हुन्छ। मुकुन अर्थात् मदन रेखाको श्रीमान् सात वर्षपछि नेपाल फर्किने कुरा आउँछ।
लामो समयपछि आफ्नो श्रीमान् विदेशबाट फर्किँदा कसलाई खुसी मिल्दैन र? एयरपोर्टमा श्रीमानको प्रतिक्षामा रहेकी रेखा छाँगाबाट खस्छिन्। जब मदन अपाङ्गता भएर स्वदेश फर्किन्छन्।
उनको उपचारको लागि हरसम्म प्रयास गर्छिन्, बिहे त भएको छैन किड्नी ट्रान्सप्लान्टको लागि आधिकारिताको लागि बिहे पनि गर्छिन्।
रेखाको माया छ साकार भयो। तर कालो बादल छाँउछ, उनको भव्य चिया पसलमा। जब महानगरको डोजर चल्छ।
रेखाले थ्री इडियट फिल्ममा अमिर खानले साथीलाई बचाए शैलीमा बचाएकी हुन्छिन् मदनलाई। निको हुँदै गर्दा बिहे गर्ने तयारी हुन्छ मुना-मदनको। पोसाक पनि तयार, रेखा मुकुन पनि तयार। चिया पसल देखेर मख्ख परेका मुकुनलाई के थाहा, रेखाले ऋणपान आफूले चढेको स्कुटी बेचेर कर्मचारीलाई तलब दिन हम्मे परेर आफ्नो उपचार गरेको।
बिहेकै दिन मुनाको चिया पसलमा महानगरको डोजर चल्छ। घर धनीले नक्सा पास नगरी नियम मिचेर जग्गा हडपेर महल बनाएको भनेर। रेखा प्रतिकारमा उत्रिन्छिन्, तर उनको बल खेर जान्छ।
महानगर भन्छ- नियमविपरीत यस्तो गर्न पाइँदैन।
रेखाको के गल्ती घरधनीलाई घोक्रेठ्याक लगाइन्छ। बैंकबाट कालोसूचीको सूचना, त्यो लफडा टिभीमा देखाइको छ। जो मुकुनले हेरिरहेका हुन्छन्।त्यो अस्पष्ट पीडा देखेर उनी आत्महत्या गर्छन्।
बिहेको लागि , आफ्नो ज्यान-मुटु दिन तयार रेखाले शौचालयमा मदनलाई मृत देख्दा पागल हुन्छिन्। मदनको मृत्यु चिया पसलको बोझ, ऋणले बौलाएकी रेखालाई पुराना दिनमा फर्कन निक्कै सकस छ। चिया पसलसँगै रेखाको मन पनि भत्किन्छ, लयमा फर्किएकी छैनन् उनी।
साँच्चै दिदी-बहिनीहरूको फिल्म हो उपहार। बेनिशा वकिल हुन्, पूजाको फिल्म क्यारेक्टरमाथि नै उल्लेख छ। छविले मोजमस्तीका नाममा तथानाम हवी बनाएका, अपार्टमेन्ट मोजमस्ती र हर्कतले निकालिएका पूजा-बेनिशा अन्तिममा रेखाकै आडभरोसा बन्छन्।
छविले मोजमस्तीको नाममा उडाएर श्रीमतीलाई डुबाउन्। त्यो चियापसल घर संयोगवश छविकै श्रीमतीको नाममा आउँछ। छविको हर्कत थाहा पाएकी उनले रेखाको लागि सार्थकता देखाउँछिन्। श्रीमानको वियोगमा डुबेकी रेखालाई दिदीले देखाएको माया, सम्मान, संरक्षण सम्झिएर जिउने हौसला दिन्छिन्। छविको कृष्ण चरित्रबाट आजित श्रीमतीले त्यो घर सम्पत्ति रेखाकै नाममा पास गर्दिन्छिन्।
वास्तवमा फिल्म एकदमै राम्रो छ। खोट देखाउने जिम्मा फिल्म हेरेपछि। वास्तविकतामा साँच्चै सडकबाट सदनसम्मको आवाज बोलेको छ उपहारले। स्वदेशमै केही गर्न सकिन्छ भन्छ उपहारले। हौसला बोकेको छ, उपहारले। साँच्चै अनेकन बाधा, समस्या, उल्झन हुँदा पनि दिदी-बहिनीको माया केहो देखाएको छ उपहारले।
फिल्मको बजारमा सफलताको खडेरी परिरहेको अवस्थामा तुलनात्मक रुपमा राम्रो फिल्म ‘उपहार’ बनेको दर्शकलाई आभास हुन्छ। व्यावसायिक फिल्महरूमा लामो समयसम्म टिकिरहन सफल अभिनेत्री रेखा थापाको यो फिल्म झण्डै कमेडीशैलीमा निर्माण गरिएको हलमा पुगेपछि दर्शकले पत्तो पाउँछन्।
फिल्मले मध्यान्तरअघि भरपुर मनोरञ्जन दिन्छ। अभिनेत्रीहरू रेखा थापा, पूजा शर्मा र बेनिशा हमाल फरक-फरक चरित्रमार्फत् नोकझोंक र झगडा फिल्मलाई मनोरञ्जनात्मक बनाएको छ। फिल्ममा उनीहरूको हर्कत हेर्नलायक छ। हलमा पुगेका दर्शकहरूबाट राम्रो प्रतिक्रिया पाइरहेको उपहार कस्तो छ, हेर्न आवश्यक छ।
फिल्ममा अञ्जु पन्त, एलिना चौहान,समिक्षा अधिकारीजस्ता नाम चलेका कलाकारले मीठो स्वर दिएका छन्। अर्जुन पोखरेल र बाबुल गिरीले मीठो धुन भरेका छन्। फिल्ममा ‘वा वा वा’, ‘कहिले बार बिर्सन्छु’ जस्ता गीतले फिल्मलाई जीवन्त बनाउन सहयोग गरेको छ। कविराज गहतराजको कोरियोग्राफीमा खोट लगाउने ठाउँ छैन। मित्रदेव गुरुङको फिल्मको सम्पादन कला औसत छ। फिल्ममा विष्णु घिमिरे कल्पितको सिनेमेट्रोग्राफी राम्रो छ।