चलचित्र ‘प्रसाद २’को छायांकन सकिएको छ । अभिनेता विपिन कार्की र अभिनेत्री केकी अधिकारीको मुख्य भूमिका रहेको चलचित्रको छायांकन ३१ दिनमा सकिएको निर्माणपक्षले बताएको छ ।
सुदर्शन थापाको निर्देशनमा तयार भएको चलचित्रलाई कास्कीको माछापुछ्रे गाउँपालिकामा खिचिएको हो ।
एस.जी फिल्मस् र सुलभ थापा प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्रमा सुदर्शन बस्नेतको लगानी छ । चलचित्रका कार्यकारी निर्माता सुवास थापा हुन् ।
यो चलचित्रमा विपिन र केकीको साथमा अर्पण थापा, महेश त्रिपाठी, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहाडी, निमा पाण्डे लगायतको मुख्य भूमिका छ ।
चलचित्रमा राजेश श्रेष्ठको छायांकन, राजनराज सिवाकोटीको संगीत छ । उत्तम न्यौपानेको ध्वनी रहेको चलचित्रको कथा रंग पत्रकार सुशिल पौडेलले लेखेका हुन् ।
यसैबिच, चलचित्रको इन्डक्ल्याप भएकै दिन यसको निर्माणपक्षले प्रदर्शन मिति समेत तय गरेको छ । छायांकन सकिएको दिन नै यो चलचित्रलाई वि.सं २०८० सालको बैशाख १ गतेबाट रिलिज गर्ने निर्माणपक्षले जानकारी दिएको छ ।
थापाले भने–‘चलचित्र ‘प्रसाद’लाई दर्शकले अपार माया दिनुभएको छ । यस्तै, माया ‘प्रसाद २’ बाट पनि पाउनेमा विश्वस्त छौं । दर्शकका लागि नयाँ बर्ष ‘प्रसाद २’ ले विशेष बनाउनेमा आशावादी छौं ।’
सिंगो टिमको मिहिनेतका कारण ३१ दिनमै चलचित्रको छायांकन पुरा गर्न संभव भएको थापाले बताए ।