‘डिग्री माइला’को आक्रामक व्यापार, दुई दिनमा तीन करोड ६ लाख

रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला’ले आक्रामक व्यापार गरेको छ । शुक्रबारबाट प्रदर्शनमा आएको यो फिल्मले दुई दिनमा तीन करोड ६ लाख ग्रस कलेक्सन गरेको हो ।

 ‘डिग्री माइला’ले पहिलो दिन शुक्रबार ९८ लाख र दोस्रो दिन शनिबार २ करोड ८ लाख ग्रस कलेक्सन गरेको वितरक गोबिन्द शाहीले दाबी गरे ।

उनका अनुसार, पहिलो दिन (शुक्रबार) ९८ लाख र दोस्रो दिन अर्थात् नयाँ वर्ष (शनिबार) २ करोड ८ लाखको व्यापार भएको छ । फिल्मको तेस्रो दिन आइतबार पनि हलमा उच्च अकुपेन्सी रहेको छ ।

‘आज आइतबार पनि हलमा दर्शकको अकुपेन्सी उच्च रहेको छ । दर्शकको माया फिल्मले पाइरहेको छ’, निर्माता मणिराम पोखरेलले भने, ‘शो र वर्ड अफ माउथ दुवै राम्रो भएकाले व्यापार राम्रो भइरहेको छ ।’

टिजर र ट्रेलर दुवैले राम्रो प्रतिक्रिया पाएपछि फिल्मले राम्रो हाइप बनाएको थियो । दयाहाङ राई र आँचल शर्मा मुख्य भूमिकामा रहेको फिल्ममा बुद्धि तामाङ, विजय बराल, प्रकाश घिमिरे, कमलमणि नेपाल, अनिल सुब्बा, माओत्से गुरुङलगायत कलाकारको अभिनय छ ।

निर्देशक गुरुङकै लेखन रहेको फिल्मले ‘किन चाउरिस मरिच आफ्नै रागले’ भन्ने चर्चित नेपाली उखानलाई आफ्नो ट्यागलाइन बनाएको छ । बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण गरेको फिल्मका निर्माताहरू विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ रहेका छन् ।

फिल्मका कार्यकारी निर्माता क्रिश लामा हुन् । फिल्ममा निमेष श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउण्ड म्युजिक रहेको छ । यस्तै, फिल्मलाई दुई क्यामराम्यान शिवराम श्रेष्ठ तथा राइली एस शिनले खिचेका छन् ।


ताजा खबर