अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा नपुग्दासम्म हाम्रोबारेमा विदेशी फिल्मकर्मीलाई धेरै ज्ञान हुँदैन : नवीन सुब्बा

रङ्ग पत्रकारिता हुँदै चलचित्र निर्देशक बनेका नवीन सुब्बाले निर्देशन गरेको चौथो फिल्म ‘गाउँ आएको बाटो’ जेठ २५ गते प्रदर्शन हुँदैछ । त्यसअगाडि विश्वप्रसिद्ध टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ४८औँं संस्करणमा छनोट भई प्रथम प्रदर्शनी (वर्ल्ड प्रिमियर) गरिएको चलचित्र दक्षिण कोरियाको बुसान अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, भारतको मुम्बई चलचित्र महोत्सव, बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवलगायतमा छनोट भइसकेको छ । अन्तर्राष्ट्रिय महोत्सवमा हुने सहभागिताले नेपाली कला र संस्कृतिलाई प्रवद्र्धन गर्नुका साथै पर्यटन प्रवर्द्धमा समेत टेवा पु¥याउने उहाँको विश्लेषण छ ।

“हामीले चलचित्रमार्फत दिइरहेको सन्देश र देखाइरहेको दृश्यले अरुलाई सहजै प्रभावित पार्न सक्छौँ । विश्वका ठूला चलचित्र उद्योग अहिले प्रविधिको सहायताले अगाडि बढिरहँदा हामीले आफ्नो मौलिकता प्रस्तुत गर्न सके त्यो सबैका लागि नयाँ र भिन्न हुनेछ”, निर्देशक सुब्बाले भने । यद्दपि उनी चलचित्र विदेशी र स्वदेशी दुवै बजारका लागि सुहाउँदो हुनुपर्नेमा स्पष्ट पार्छन् । विदेशी महोत्सवमा पुगेर वा स्वदेशमा व्यापारिक सफलतामात्र आर्जन गरेर चलचित्रको विकास नहुने उनको बुझाइ छ । “अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा नपुग्दासम्म हाम्रोबारेमा विदेशी चलचित्रकर्मीलाई धेरै ज्ञान हुँदैन । त्यहाँ हुने प्रदर्शनी, प्राप्त गर्ने पुरस्कारले हाम्रो निर्माण क्षमता र कथाबारे उनीहरूलाई अवगत गराउँछ । त्यस्तै, घरेलु बजारमा राम्रा चलचित्र बनाउने दबाब पनि बढ्छ । त्यसकारण दुवैलाई ध्यानमा राख्दै चलचित्र बन्नुपर्छ”, निर्देशक सुब्बाले भने ।

उनले पछिल्लो चलचित्र ‘गाउँ आएको बाटो’ मा राई जातिको सामाजिक पृष्ठभूमिमा पूर्वी नेपालको हिमाली क्षेत्रमा बाँसको चोयाबाट डोकोडालो बनाएर जीविकोपार्जन गरिरहेको एक परिवारको कथा बुनेका छन् । त्यसमा गाउँमा मोटरबाटो भित्रिएसँगै आएको आधुनिक परिवर्तनले ल्याउने उतारचढावलाई प्रस्तुत गरिएको छ । उनका अनुसार गाउँमा सडक आएपछि बाबुछोराका सम्बन्धमा आउने उतारचढावको केन्द्रमा चलचित्र निर्माण कथावस्तु बुनिएको छ । उनले भने,“यो बुबाछोराको सम्बन्धलाई नियाल्ने प्रयास हो । यो कथा पढेपछि मैले मेरो बाल्यकाल र बुबासँगको सामिप्यतालाई महसुस गरेको थिएँ ।”

महोत्सवमा सहभागी भएको चलचित्र भन्नेवित्तिकै मनोरञ्जन नहुने भन्ने किसिमको भाष्य सही नभएको उनको भनाइ छ । किनकि चलचित्रको विधा र प्रस्तुतिकरणअनुसार मनोरञ्जन, समवेदना र हास्यरस हुने उनले बताए । “अन्तर्राष्ट्रिय महोत्सवमा पुगेका चलचित्र हेर्न बढी दिमाग प्रयोग गर्नुपर्छ भन्ने भाष्य गलत छ । किनकि कालोपोथी होस् वा ऐना झ्यालको पुतली निकै मनोरञ्जनात्मक छ तर यसको प्रस्तुतिकरण नियमितभन्दा पक्कै फरक छ । यसकारण यो चलचित्रकर्मीको रोजाइमा परेको हो”, निर्देशक सुब्बाले भने ।

उनले बुवा–छोराको कथाले चलचित्र भवनमा रहेका दर्शकलाई पर्दाभित्रका कलाकारसँग जोड्ने विश्वास व्यक्त गरे । गाउँमा बाटोले विकाससँगै के–के ल्याएको छ भन्ने तथ्यलाई एउटा परिवारमार्फत देखाइएको उनले बताए । “कहिलेकाहीँ गाउँ आउने बाटोले गाउँलाई सहरसँग जोड्छ वा सहरमा तान्छ । बसाइसराइ, आधुनिकतासँगै गाउँ नै रित्तो पनि बनाउने गरेको छ । हामीले यस्तै विषयलाई एउटा परिवारको आँखा वा भोगाइबाट व्यक्त गरेका छौँ । यो हाम्रो ग्रामीण भेगको कथा हो”, निर्देशक सुब्बाले भने ।

यो चलचित्रमा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बालगायतले अभिनय गरेका छन् । महेश राई र निर्देशक सुब्बाले लेखेको यो चलचित्रको छायाङ्कन जोस हेरम, सम्पादन क्वान पुन लिउङ र हेडी लीले सङ्गीत भरेका छन् ।


ताजा खबर