फ्राइडे रिलिजअन्तर्गत आजबाट दुइवटा नेपाली फिल्म प्रदर्शन भएका छन् । ‘गाउँ आएको बाटो’ र ‘लन्डन टु पेरिस’ आजबाट प्रदर्शनमा आएका हुन् ।
नवीन सुब्बाले निर्देशन गरेको फिल्म ‘गाउँ आएको बाटो’ले गाउँमा गाडी आएपछि परम्परागत पेसामा आएको संकटको कथा भन्नेछ ।
फिल्ममा दयाहाङ राई, पशुपति राई, प्रसन राई, प्रेम सुब्बालगायत कलाकारको मुख्य भूमिका छ ।
टोरोन्टो र बुसान फिल्म फेस्टिभलमा प्रशंसा बटुलेको ‘गाउँ आएको बाटो’को पटकथा निर्देशक नवीनले महेश राईसँगको सहकार्यमा लेखेका छन् । मेन्छ्याम फिक्चर्स र बाँसुरी फिल्मस्को संयुक्त ब्यानरमा बनाइएको फिल्मका निर्माता अमोद राई र निर्देशक नवीन स्वयं हुन् ।
‘लन्डन टु पेरिस’लाई घनश्याम लामिछानेले निर्देशन गरेका छन् । नेपाली डायस्पोराको कथा भन्ने फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह, निश्चल खड्का, कविर खड्कालगायत कलाकार मुख्य भूमिकामा छन् ।
एबी इन्टरनेश्नलको प्रस्तुति रहेको फिल्ममा गौतम प्रोडक्सन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य रहेको छ । अमित बस्नेतले निर्माण गरेको फिल्ममा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा रहेका छन् ।
सनिश खकुरेल र अजित केआर थापा फिल्मको सह-निर्माता हुन् भने अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी यसका कार्यकारी निर्माता हुन् ।