नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) आउँदो चैत्र २ गतेदेखि हुने भएको छ ।
बुधबार राजधानीमा आयोजित एक कार्यक्रमबीच निफले छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको औपचारिक घोषणा गरेको हो ।
‘विश्वका कथाहरूको कथ्य उत्सव’ भन्ने नाराका साथ ‘फिल्म संस्कृति’को विकास गर्ने उद्देश्यसहित सुरु भएको यो फेस्टिभलको छैटौँ संस्करण २०२३ चैत दुई गतेदेखि ६ गते (मार्च १६ देखि २०) सम्म हुनेछ । नीफमा यो वर्ष ३५ देशका ९५ वटा चलचित्रहरूले प्रतिस्पर्धा गर्ने भएका छन् ।
आयोजक संस्थाका अध्यक्ष केपी पाठकले पत्रकार सम्मेलनमा महोत्सवका लागि विश्वका विभिन्न ५५ देशबाट पाँच सयभन्दा बढी चलचित्र प्राप्त भएको जानकारी दिए । ती चलचित्र संसारका ५५ देशबाट प्राप्त ५ सय बढी चलचित्रबाट छानिएको हो।
यस पटकबाट निफका प्रतिष्पर्धी चलचित्र सिनेमा हलमा प्रदर्शन गर्ने र क्युएफएक्स सिनेमासँगको सम्झौता अनुसार काठमाडौंको छायाँ सेन्टर सिभिल महल, ललितपुरको लबिङ महल र भक्तपुरको क्युएफएक्स सिनेमा हलमा चलचित्र प्रदर्शन हुने भएको छ ।
महोत्सवमा रचनात्मक कार्यक्रमलाई विशेष महत्त्व दिने र चलचित्र क्षेत्रका ख्यातिप्राप्त र अनुभवी चलचित्रकर्मी र कलाकारहरूको सहभागितामा विभिन्न कार्यक्रम, अन्तरक्रिया र छलफल कार्यक्रमसमेत हुने बताइएको छ ।
कार्य्रक्रमका प्रमुख अतिथि भुवन केसीले महोत्सवमा छानिएका चलचित्रहरू क्युएफएक्सले हलमा देखाउने निर्णय गरेको प्रशंसनीय रहेको बताए । यसै गरी अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा चलचित्र विकास र्बोडको निरन्तर सहयोग रहनेसमेत प्रतिबद्धता गरेका छन्।
कार्यक्रममा वरिष्ठ कलाकार नीर शाहले नीफले नेपाली चलचित्रलाई विदेशमा चिनाउन र विदेशी चलचित्रलाई नेपालमा चिनाउन मद्दत गरेकोमा खुसी व्यक्त गरे । ‘यस वर्षदेखि निफले क्यूएफएक्ससँगको सम्झौता र दोस्रो माया एनिमेसन एकेडेमीसँगको मित्रता जोड्न सफल भएको छ,” उनले भने, “चलचित्र महोत्सव र कार्यक्रम वर्षभरि नै चल्ने गर्छ तर हामीले उच्च स्तरबाट मूल्याङ्कन गर्नुपर्ने इभेन्ट हो अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ।”
चिनियाँ सांस्कृतिक केन्द्रका निर्देशक स्याओ च्याङले निफजस्ता फेस्टिभल गर्न मेहनत लाग्ने र नेपाली फिल्मको विकासमा निफको भूमिका महत्त्वपूर्ण रहेको बताएकी छिन् ।
यस्तै, निर्देशक सरिता गिरीले ‘नीफ’लाई पुराना फिल्म निर्देशकसँगै नयाँ पुस्ताका लागि पनि यो ठूलो उत्सव भएको बताइन । सुरुवातका दिनमाभन्दा आज यो महोत्सव अझै वृहत् भएको उनको अनुभव छ ।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, वरिष्ठ कलाकार नीर शाह, गौरी मल्ल,दीपाश्री निरौला, निर्मल शर्मा, रेजिना उप्रेती, सरिता गिरीलगायत फिल्मकर्मी उपस्थित थिए।