लगातार फ्लप फिल्मले गाह्रो भयो अक्षयलाई स्टारडम जोगाउन

पछिल्लो समयमा बलिउड अभिनेता अक्षय कुमारका फिल्मले बक्स अफिसमा सफलता पाउन सकेका छैनन् । अहिले रिलिज भएको फिल्म ‘सरफिरा’ बक्स अफिसमा असफल भएपछि अक्षयको समस्या बढेको छ ।

हरेक बर्ष कम्तिमा चार फिल्म रिलिज गर्ने अक्षय कुमारका पछिल्ला फिल्म लगतार असफल भएको समयमा ‘सरफिरा’बाट उनले विशेष आशा राखेका थिए । तर ‘सरफिरा’ले पनि दर्शकको मन जित्न नसकेपछि उनी निराश भएका छन् ।

‘सरफिरा’को पहिलो दिन कमाई नै निकै निराशाजनक रहेको थियो । साताको अन्त्यमा फिल्मको कमाईमा केही सुधार भएपनि पहिलो सोमबारको कमाईमा उल्लेख्य गिरावट आएको छ ।

फिल्मले आइतबार ५.१ करोड कमाएको थियो । चौथो दिन सरफिराले १.४० करोड कमाएको थियो । योसँगै फिल्मले अहिलेसम्म १३.४० करोडको व्यापार गरेको छ । ८० करोडको लगानीमा बनेको यो ‘सरफिरा’ले अब बक्सअफिसमा जादु देखाउने सम्भावना देखिएको छैन ।

यस अघि उनको अप्रिलमा रिलिज भएको ‘बडे मिया छोटे मियाँ’ले केवल ५९ करोड कमाएको थियो र फ्लप भएको थियो भने त्यसअघि गत अक्टोबरमा ‘मिसन रानीगंज’ले ३३ करोड कमाएको थियो र बक्स अफिसमा असफल भएको थियो । ‘सरफिरा’सँगै उनका लगातार तेस्रो फिल्म बक्स अफिसमा फ्लप भएका छन् ।

उनको फिल्म २०२३ को अगस्तमा ‘ओएमजी- २’ ले १५० करोड कमाई गरेको थियो र बक्स अफिसमा सुपर हिट भएको थियो । त्यसअघि रिलिज भएका सेल्फी, रक्षा बन्धन, सम्राट पृथ्वीराज र बच्चन पाण्डे फ्लप भएका थिए ।

सुधा कोंग्रा प्रसादले निर्देशन गरेको सरफिरामा अक्षय कुमार बाहेक राधिका मदन, परवेश रावल सीमा विश्वासलगायतको अभिनय रहेको छ ।


ताजा खबर