‘एक्टर’को छायांकन ४५ दिनमा सम्पन्न, जापान प्रदर्शन अधिकार बिक्री

निर्माणको घोषणादेखि नै चर्चामा रहेको फिल्म ‘एक्टर’को छायांकन सम्पन्न भएको छ । फरक भूमिकामा प्रदीप खड्का, राजबल्लभ कोइरालाको कमब्याक तथा दिब्या रायमाझीको डेब्यु मुभीलगायत विभिन्न कारणले यो फिल्म घोषणादेखि नै चर्चामा छ ।

वैशाखको अन्तिम साताबाट पोखराको विन्ध्यवासिनी मन्दिरमा पूजा गर्दै छायांकन सुरु गरिएको फिल्मको दुई चरण गरी ४५ दिनमा छायांकन पूरा गरिएको हो ।

पोखरामा १० दिन र काठमाडौंमा ३५ दिन छायांकन गरिएको हो । एउटा गीत खिच्न बाँकी राख्दै सम्पूर्ण छायांकन सकिएको निर्माता थमन कुमार भण्डारीले जानकारी दिए । “लामो समय लगाएर छायांकन सकिएको छ । सुटिङ अवधिभर कलाकार र प्राविधिकको राम्रो साथका कारण सोचेजस्तै काम भएको छ । अब बाँकी गीतको छायांकन युरोपमा गर्ने सोचमा छौँ,” उनले भने, “तीन महिनामा टिजर, ट्रेलर र फर्स्टलुक सार्वजनिक गर्नेछौँ । यी सामग्रीमै फिल्म कस्तो बनेको छ भन्ने दर्शकले थाहा पाउनुहुनेछ ।”

उनले अभिनेता प्रदीप खड्कालाई हेर्दै आएको भन्दा फरक देख्न सकिने बताए ।

राजन भुसालको डेब्यु निर्देशनमा बन्न लागेको फिल्ममा प्रदीप र दिव्या रायमाझीसहित राजबल्लभ कोइराला, आना शर्मा, सुशील सिटौला, दिव्य देव, उषा रजक, प्रदीप चौधरी ‘पिके’, बादल भट्ट, अनोज पाण्डे, सुप्रज्ञा शर्मा, सिर्जना अधिकारीलगायतको अभिनय छ ।

दिव्याको यो पहिलो फिल्म हो । दिव्या अभिनेता दिलीप रायमाझीकी छोरी हुन् । राजबल्लभले यही फिल्मबाट करिब दश वर्षपछि कमब्याक गरेका छन् ।

प्रदीपले पहिलो पटक फिल्मी पर्दामा दिव्या र आनासँग सहकार्य गरेका हुन् ।

अदृत फिल्मसको प्रस्तुतिमा मोती फिल्मसको निर्माण रहेको फिल्ममा थमन कुमार भण्डारीको लगानी छ । एनिस भुसाल सह–निर्माता रहेको फिल्मको क्रिएटिभ प्रोड्युसर मोती कार्की हुन् । फिल्म नरेन्द्र मैनालीले खिचेका छन् ।

यो फिल्म तिहारको अवसर पारेर कात्तिक १५ गते लक्ष्मीपूजामा रिलिज हुनेछ । फिल्मको जापान प्रदर्शन अधिकार बिक्री भएको छ । ‘एक्टर’को जापान राइट्स खिमराज शाहको म्याक्स इटरटेनमेन्टले खरिद गरेको छ ।


ताजा खबर