काठमाडौं । आगामी भदौ २१ गतेबाट रिलिज हुने फिल्म ‘रावायण’को दोस्रो फस्टलुक सार्वजनिक भएको छ । फस्टलुकमा फिल्मका नायक पल शाह र नायिका पुजा शर्मा फिचर्ड छन् ।
फस्टलुकमा पललाई केही गम्भीर भावमा देख्न सकिन्छ । नायिका पुजालाई भने रिसाएको देख्न सकिन्छ । उनले कसैलाई आँखा तर्किएर आफ्नो रिसाएको भाव देखाएकी छन् । दुवैको पृष्ठभूमिमा ‘एसिड आक्रमण गर्ने अपराधीलाई कारवाही गर’ भन्ने व्यानरसहित प्रहरी कार्यालय अगाडि प्रदर्शन गरिरहेका एक समूहलाई देख्न सकिन्छ । यो तस्वीर हेर्दा फिल्म एसिड आक्रमणविरुद्ध बोल्छ भन्ने बुझ्न सकिन्छ ।
यसअघि फिल्मको सार्वजनिक पलको सोलो फस्टलुकले बजारमा राम्रै चर्चा पाएको थियो ।
फिल्मका निर्देशक सुदर्शन थापा हुन् । सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बनेको फिल्मकी निर्माता पुजा शर्मा हुन् । फिल्ममा सुशन पाठक कार्यकारी निर्माता छन् ।
फिल्ममा पल शाह, पुजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाललगायतको अभिनय छ ।