चलचित्र ‘प्रेमा’को टिजर सार्वजनिक भएको छ ।
बाघठाटा फिल्म फ्याक्ट्रीको व्यानरमा निर्मित चलचित्र आगामी चैत १७ अर्थात ३१ मार्चमा रिलिज हुँदैछ ।
निर्देशक गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको चलचित्रको टिजरमा प्रमुख तीन कलाकार शुभेक्क्षा खड्का, सृष्टि श्रेष्ठ र अरुण क्षेत्री फिचर्ड छन् ।
टिजरमा आकाशको भूमिकामा देखिएका अरुणले शीर्ष चरित्र प्रेमा अर्थात् शुभेक्क्षालाई मनपराएको देखाइएको छ । तर शुभेक्क्षाले भने भित्री रुपमा अरुणलाई मनपराए पनि बाहिरी रुपबाट भने वास्ता नगरेको टिजरमा देख्न सकिन्छ । अरुण र शुभेक्क्षाको संवादमा अरुणले प्रेमभाव व्यक्त गर्दा शुभेक्क्षाले केही रिस र केही खुशी मिश्रित अनुहारमा ‘कसो छ आलोकाच्चो मुल्या’ भनेको संवाद राम्रो सुनिएको छ । जुन दर्शकका लागि फरक लाग्नसक्छ ।
टिजरको अन्तिमतिर सृष्टिको आगमनबाट शुभेक्क्षा केही सशंकित देखिन्छिन् । किनकी टिजरमा सृष्टिसँग अरुण र शुभेक्क्षाको भेट हुँदा शुभेक्क्षाले अरुणलाई तानेर लगेकी छन् । जुन दृश्य हेरेर सृष्टि हाँसेकी छन् ।
टिजरमा शुभेक्क्षालाई साधारण र सुन्दर युवतीको रुपमा देखाइएको छ । सृष्टिलाई बोल्ड र सहरीया शैलीमा प्रस्तुत गरिएको छ । अरुणलाई सहरको साधारण पात्रको रुपमा देखाइएको छ । जुन उसको पहिरन र संवादले खुलाएको छ ।
टिजर बाघठाटा फिल्म फ्याक्ट्रीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । काठमाडौं, धनगढी र कर्णालीमा सुटिङ गरिएको फिल्ममा अरुण, शुभेक्क्षा र सृष्टिका अलावा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया (काजु)को अभिनय छ ।
निर्देशक भण्डारीले चलचित्रकोको फस्टलुक सार्वजनिक गर्दा चलचित्रले त्रिकोणात्मक प्रेमकथा बोल्ने बताएका थिए । उनको कुरालाई शुक्रबार सार्वजनिक टिजरले पुष्टि गरेको छ ।
चलचित्र ‘प्रेमा’ गोविन्द सिंह भण्डारी र विवेक घिमिरेले निर्माण गरेका हुन् । सामर्थविक्रम थापाको कार्यकारी निर्माण रहेको चलचित्रमा सुशान्त गौतमको संगीत, सुशान्त, सबिन एकतारे र अनिल शर्माको गीत, चन्द्र भट्टराईको प्रमुख सहायक निर्देशन, अमित श्रेष्ठको व्याकग्राउण्ड स्कोर र ५.१ मिक्सिङ, शैफुद्दीन कादर मोहम्मदको क्रिएटिभ हेड, कृष्ण भण्डारीको सम्पादन तथा रंग संयोजन र महेश पौडेलको डीओपी छ ।
फिल्मलाई उपत्यकामा जीजीए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछ ।