राजेश र सरोजले ३० वर्षपछि सँगै स्क्रिन सेयर गर्दै

निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको फिल्म ‘नरसिंहाः अवतार’ मा कलाकारहरुको रोचक लाइनअप तयार हुने क्रम जारी छ।

एक्सन तथा सोसल ड्रामामा बन्ने फिल्मका लागि अहिलेसम्म तीनजना मुख्य पात्रहरु फाइनल गरेको निर्माणपक्षले थप दुई जना कलाकारहरु फाइनल गरेको हो ।

कलाकारको यो सूचीमा अभिनेता सरोज खनाल पनि थपिएका छन् । फिल्मको शीर्षमध्ये एक भूमिकामा खनालसँगै डेब्यु कलाकारको रुपमा दीपा शाही अनुबन्धित भएका हुन् ।

निर्माणपक्ष र उनीहरुबीच लिखित सम्झौता भइसकेको छ । निर्माणपक्षले यो फिल्ममा सरोज र दीपाको कस्तो भूमिका छ भन्ने विषयमा भने केही पनि खुलाइएको छैन ।

क्रिएटिभ सिने आर्टको प्रस्तुति रहने फिल्मको शीर्ष भूमिकामा यसअघि राजेशसँगै नीति शाह, शनिसा भट्टराईलगायत कलाकार फाइनल भइसकेका छन् ।

यही फिल्मबाट ८ वर्षपछि महानायक राजेश हमाल कमक्याक गर्दैछन् । आठ वर्ष भन्दा धेरै समय पछि हमाल फिल्ममा फर्किने खबरले यतिबेला नेपाली फिल्मवृत तताएको छ । यो फिल्म उनीसँगै दर्शक दुवैका लागि विशेष हुने पक्का छ । जस कारण यो फिल्म प्रतिक्षित बन्ने निश्चित छ ।

यता, एउटै फिल्ममा महानायक हमालसँगै अभिनेता खनाल पनि देखिने कुराले फ्यान उत्साही बनाएको छ। यो फिल्ममा सँगै काम गर्दा राजेश र सरोज ३० वर्षपछि सँगै एउटै फिल्ममा देखिने भएका हुन् । उनीहरुले पछिल्लोपटक तीर्थ थापाले निर्देशन गरेको फिल्म ‘सडक’मा सँगै काम गरेका थिए ।

सरोजले क्याप्टेनपछि दिवाकरको यो दोस्रो फिल्म ‘नरसिंहा अवतार’ मा अभिनय गर्न लागेका हुन् ।

फिल्म यही भदौबाट छायाङ्कनमा जाने तयारीमा रहेको छ । फिल्मको लगानी तीन करोडभन्दा माथि हुने बताइएको छ ।

निर्देशक भट्टराईको अर्को फिल्म ‘मायावी’ प्रदर्शनको तयारीमा छ ।


ताजा खबर