अवैध काम भएको हुनुसक्ने आशंकामा नेपाल संगीत उद्योग संघको कार्यालयमा प्रहरीले छापा मारेको छ । नेपाल प्रहरीको मानव वेचविखन ब्युरोको टोलीले बुधबार दिउँसो अनामनगरस्थित संघको कार्यालयमा छापा हानेको हो ।
ब्युरोका प्रमुख एसएसपी ओमबहादुर रानाका अनुसार संगीत उद्योग उद्योग बाणिज्य संघमा दर्ता भएर स्थापना भएको संस्था हो । केहि दिनअघि यो संस्थाले विभिन्न बहानामा विदेश लैजाने कागजात बनाउने र यसका लागि मोटो रकम लिने गरेको भन्दै भिडियो सार्वजनिक गरिएको थियो ।
भिडियोमा सांगीतिक कार्यक्रम तथा सांस्कृतिक कार्यक्रममा सहभागी हुन विदेश लैजाने र आवश्यक कागजात बनाउने भन्दै एक व्यक्तिले रकम बार्गेनिङ गरेको देखिन्छ।
एसएसपी रानाले भने, ‘संघबाट विभिन्न कागजात ल्याएर अनुसन्धान भइरहेको छ । कम्युटरलाई ल्याबमा पठाएर डाटा हेरिरहेका छौं । संघका अध्यक्ष,सचिवलगायतका पदाधीकारीसँग बयान लिइरहेका छौं । उनीहरूले भिजिट भिसामा विदेश पठाउन संगीत उद्योग संघको दुरुपयोग गरेको पुष्टि भएमा मानव वेचविखन मुद्दामा अनुसनधान अगाडि बढाइनेछ ।