टिप्पणी: नेपाली मेकरहरू किन जुधाउँदै छन् फिल्म ?

सुरक्षा भट्टराई (Suraksha Bhattarai)

नेपाली फिल्म क्षेत्रमा पछिल्लो समय एकदमै गहिरो संकट देखिन थालेको छ । फिल्म निर्माणको संख्या बढ्दै जाँदा, हलमा दर्शकको उपस्थिति भने घट्दो क्रममा छ तर, निर्माता, निर्देशक, र कलाकारहरूको बीचमा फिल्महरूको प्रदर्शनका लागि मिति जुधाउने प्रवृत्ति बढ्दै गएको छ।

पछिल्लो समय, एकाध फिल्मले उच्च ब्यापारिक सफलता प्राप्त गर्दै बक्स अफिसमा राम्रो फाइदा गरिरहेका छन्। यी फिल्महरूको कथा, अभिनय, र निर्देशनको प्रशंसा गरिएको छ, जसले दर्शकहरूलाई हलसम्म तान्न सफल भएको छ। यस सफलताले मेकरहरूलाई थप प्रेरित गरेको छ। तर, फिल्म निर्माता, निर्देशक र वितरकहरूबीच मिति तोक्नुपर्ने विषयमा सहमति हुन नसक्दा नेपाली फिल्म क्षेत्रमा ‘तँछाडमछाड’ देखिएको छ। त्यसको कारण हो, एउटै मितिमा धेरै फिल्म रिलिज गर्ने चलन । जसले गर्दा दर्शकहरू विभाजित भइरहेका छन्, यसको प्रत्यक्ष असर बक्स अफिसमा देखिने गरेको छ।

फिल्म जुधाउन किन तँछाडमछाड ?

नेपाली फिल्महरु एउटै मितिमा जुधाउने प्रवृत्ति नयाँ होइन। धेरै निर्माताहरू आफ्नो फिल्मलाई सोलो रिलिज मिति गर्न चाहन्छन्, तर, पछिल्लो समय कलाकार–कलाकार र निर्देशक–निर्देशकबीचको व्यक्तिगत इगोमा वितरक मिसिएपछि फिल्महरू जुध्ने गरेका छन् । जसले गर्दा ‘बक्स अफिस’मा प्रतिस्पर्धा हुन्छ।

यसरी नै मेकरहरूले दर्शकहरूलाई असमझदारीमा पारिदिन्छ र कुन फिल्म हेर्ने भन्ने निर्णय गर्न दर्शकलाई गाह्रो हुन्छ। जसले गर्दा एकै मितिमा धेरै फिल्म प्रदर्शन हुँदा कुनै पनि फिल्मले ठूलो सफलता हासिल गर्न सक्दैन। एउटा फिल्मको दर्शक अरू फिल्मले खिचिदिन्छ, यसरी हेर्दा कुनै पनि फिल्मले अपेक्षित कमाइ गर्न सक्दैन।

रिलिज मिति जुधाउने प्रवृत्तिले नेपाली फिल्मलाई नै अथवा आफ्नै फिल्मलाई ठूलो घाटा पुर्याइरहेको छ। यो प्रवृत्तिका कारण धेरै फिल्महरू अपेक्षित दर्शक संख्यामा पुग्न नसक्दा व्यापारमा नराम्रो प्रभाव परेको हुन्छ। एकै समयमा दुई वा तीन फिल्म रिलिज हुँदा, दर्शकहरूको ध्यान विभाजित हुन्छ, जसले गर्दा कुनै पनि फिल्मले ठूलो संख्या नआउन सक्छ। फिल्मका निर्माता र वितरकहरूबीच सहकार्यको अभावले यो समस्या झनै गहिरिँदै गएको देखिन्छ।

यसरी फिल्महरूको प्रदर्शन मिति जुधाउने प्रवृत्ति बढ्दै जाँदा नेपाली फिल्म क्षेत्रमा नाम चलेका कलाकारहरूका फिल्म जुध्नेक्रमले निरन्तरता पाएको छ । गत जेठ १० गते नायकद्वय अनमोल केसी र प्रदीप खड्काको फिल्म क्रमशः ‘फर्की फर्की’ र ‘पुजार सार्की’ एकै दिन रिदिज भएका थिए । अब दसैं फूलपाती अर्थात् असोज २४ गते दीपकराज गिरी, विराज भट्ट र जितु नेपालका फिल्म रिलिज हुँदैछन् ।

तेस्तै तिहारको बिदाको मौका पारेर प्रदीप खड्का र पल शाहका चलचित्र एकै दिन रिलिज हुने भएका छन् । प्रदीपको ‘एक्टर’ र पलको ‘मायावी’ एकै दिन आउन लागेका हुन् ।

कात्तिक १५ गते लक्ष्मी पूजाका दिन यी दुई चलचित्र रिलिज हुने भएका छन् । तिहारको लामो बिदालाई निर्माता तथा निर्देशकले रोज्दा यी दुई चलचित्र आपसमा भिड्न आइपुगेका हुन् ।अझ सिने बजारको हल्ला सुन्ने हो भने अर्को चलचित्र पनि यहि मितिमा आउने तयारि मा छ रे अब तिहार मा पनि ३ ओटा चलचित्र रिलिज हुने हो भने दर्सकलाइ अप्सन त धेरै हुन्छ तर निर्मातालाइ चलचित्र बाट नाफा कमाउन भने मुस्किल भने पक्कै हुने छ ।

एकातिर, फिल्महरूको संख्या र निर्माणमा लगानी बढेको छ भने, अर्कोतिर, हलमा दर्शकहरूको उपस्थिति लगातार घट्दै गइरहेको छ। यो विरोधाभासले फिल्म निर्माताहरूलाई गम्भीर चिन्तामा पार्ने गरेको छ, जस कारण फिल्म निर्माणका क्रममा निर्माता र निर्देशकहरूबीच सहकार्यको अभाव पनि एक प्रमुख समस्या हो।

कोही कसैको व्यक्तिगत इगो साध्ने नाममा निर्माताको करोडौँ रुपैयाँ भने बागमतीको पानी सरह बगिरहेको छ । कलाकार, निर्देशक र वितरकको व्यक्तिगत दुस्मनी र जुँगाको लडाइँमा निर्माताको करोडौं रुपैयाँ डुबिरहेको छ । निर्माताहरू निरीह बनिरहेका छन् । निर्माता रहे फिल्म क्षेत्र रहन्छ । निर्माता रहे फिल्म बन्ने हो । निर्माताको पैसा जोगिए र निर्माताले पैसा कमाएर फरि फिल्म बन्ने हो । तर, कलाकार, निर्देशक र वितरक यो सत्यलाई बुझ्न चाहिरहेका छैनन् ।

यसको समाधानका लागि नेपाली फिल्म निर्माता, निर्देशक, र वितरकहरूले सामूहिक रूपमा सहकार्य गर्न आवश्यक छ। मिति जुधाउने प्रवृत्ति रोक्न एक आपसी सहमति गर्नुपर्ने देखिन्छ। दर्शकलाई गुणस्तरीय कथा, राम्रो निर्देशन, र उत्कृष्ट प्रोडक्शन डिजाइनसहितका फिल्महरू प्रदान गर्न सकियो भने मात्र हलमा दर्शकको संख्यामा वृद्धि हुनेछ।

नेपाली फिल्म क्षेत्रले अहिले जुधाइको खेल खेल्नुभन्दा, सहकार्यको बाटो रोज्नु आवश्यक छ। मिति जुधाउने समस्या र गुणस्तरहीन फिल्म निर्माणका कारण नेपाली फिल्मले दर्शक गुमाउँदै गएको छ। यो समस्याको समाधान गरे नेपाली क्षेत्रले नयाँ उचाई हासिल गर्न सक्दछ। मिति जुधाउने प्रवृत्ति हटाउन फिल्म क्षेत्रभित्र एक सामूहिक सहमति आवश्यक छ। साथै, फिल्म क्षेत्रको दीर्घकालीन विकासका लागि निर्माता, निर्देशक, कलाकार, र वितरकहरूबीच समन्वय गरी फिल्मका रिलिज मितिहरू निर्धारण गर्नुपर्छ। यसले बक्स अफिसमा अनावश्यक प्रतिस्पर्धा कम गरी प्रत्येक फिल्मलाई आफ्नो क्षमताअनुसार प्रदर्शन गर्न मद्दत पुर्याउँछ।

यसका लागि नेपाली फिल्म क्षेत्रले यो ‘तँछाडमछाड’ प्रवृत्तिबाट बाहिर निस्कन सामूहिक प्रयास, सहकार्य र दीर्घकालीन सोचको आवश्यक छ। निर्माता र वितरकहरूले आपसमा मिति तोक्ने क्रममा राम्रो समन्वय गर्नुपर्ने देखिन्छ। त्यस्तै, प्रत्येक फिल्मलाई पर्याप्त समय र स्थान दिएर दर्शकसम्म पुर्याउन सकिने वातावरण सिर्जना गर्नु जरुरी छ। यसले सबै फिल्मलाई निष्पक्ष मौका दिनेछ र फिल्म क्षेत्रलाई लामो समयसम्म स्वस्थ प्रतिस्पर्धाको लागि मार्ग प्रशस्त गर्नेछ। अझ भनौँ, मेकरहरूको ‘तँछाडमछाड’ प्रवृत्तिबाट मुक्त गराउन सुधारात्मक कदमहरू चाल्न सकियो भने नेपाली फिल्महरूले पुनः दर्शकहरूको मन जित्न सफल हुनेछ।


ताजा खबर