नायक पल शाह र नायिका पूजा शर्मा अभिनीत फिल्म ‘रावायण’लाई पुनः सेन्सर गरिएको छ। सुदर्शन थापा निर्देशित यस फिल्मका केही संवाद र दृश्यमा ‘बिप’ र ‘ब्लर’ गरी केन्द्रिय चलचित्र जाँच समितिले फिल्मलाई पीजी (पैरेन्टल गाइडन्स) सर्टिफिकेट दिएको हो।
पहिले यो फिल्मलाई हिंसात्मक दृश्यहरूको प्रयोग भएको भन्दै सेन्सर बोर्डले ‘एडल्ट’ सर्टिफिकेट दिएको थियो। यस कारणले गर्दा बालबालिकासहित आएका अभिभावकहरूले फिल्म हेर्न नपाउँदा व्यापारमा ठूलो असर परेको थियो।
अब रि-सेन्सर गरिएसँगै सोमबारदेखि १६ वर्ष मुनिका दर्शकहरू पनि परिवारका सदस्यहरूसँगै बसेर फिल्म हेर्न पाउनेछन्।
फिल्मले पीजी सर्टिफिकेट पाएपछि अभिनेत्री तथा निर्मात्री पूजा शर्माले खुसी व्यक्त गर्दै सेन्सर बोर्डलाई धन्यवाद दिएकी छन्। उनले फेसबुकमा लेखेकी छन्, ‘२/३ संवादमा ‘बिप’ र २/३ दृश्यमा ‘ब्लर’ गरेर फिल्मलाई सेन्सर गरिदिनुभएकोमा आभार व्यक्त गर्दछौं।’
यसअघि एडल्ट सर्टिफिकेटका कारण शुक्रबार र शनिबार धेरै दर्शक हलमा पुगेर फर्किनु परेकोले पूजा निराश देखिएकी थिइन्। तर, फिल्मको टिजर, ट्रेलर र गीतले राम्रो चर्चा बटुलिरहेको ‘रावायण’ अब सबै उमेर समूहका दर्शकका लागि खुला भएको छ।
यस फिल्ममा प्रमुख भूमिकामा पूजा शर्मा र पल शाह छन् भने अन्य कलाकारहरूमा प्रमोद अग्रहरी, प्रियंका कार्की, निकिता चण्डक, अर्जुनजंग शाही, शर्मिला मल्ल लगायतका कलाकारहरूको अभिनय रहेको छ।