सलोन बस्नेतको नयाँ फिल्म ‘रंगी’को घोषणा

काठमाडौँ । सलोन सलिना फिल्मस् प्रालिको व्यानरमा फिल्म ‘रंगी’ निर्माण हुने भएको छ । सलोन बस्नेत प्रस्तुतकर्ता रहने फिल्ममा सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन रहनेछ ।

निर्देशक न्यौपानेसँग फिल्म ‘छक्का पन्जा’, ‘ए मेरो हजुर २’, ‘यात्रा’, ‘म यस्तो गीत गाउँछु २’, ‘कृ’लगायतका फिल्ममा मुख्य सहायक निर्देशनको अनुभव छ । निर्माण पक्षले फिल्मको पोस्टर सार्वजनिक गरेको छ । जहाँ साइकलमा बसिरहेकी एक बालिका र उनीसँग खेल्दै गरेका एक पुरुष देखाइएको छ ।

उनीहरु बाबुछोरी रहेको अनुमान लगाउन सकिन्छ । पृष्ठभूमिमा सूर्यास्त हुँदै गरेको देखाइएको छ । फिल्मले बाबु छोरीको कथालाई चित्रण गर्ने अनुमान गर्न सकिन्छ । सक्षम सुवेदीको निर्माण रहने फिल्ममा सुमन गजमेरको लेखन छ ।

फिल्ममा सौरभ लामा छायाकारका रुपमा अनुबन्धित भइसकेका छन् । फिल्मका लागि कलाकार फाइनल भइसकेका छैनन् । फिल्मको छायांकन असोज ११ गतेदेखि काठमाडौंबाट सुरु हुनेछ ।


ताजा खबर