निश्चलको पाँचौं फिल्म ‘डेनी डेन्जरस’

चर्चित निर्माता, निर्देशक तथा कलाकार निश्चल बस्नेतले आफ्नो नयाँ फिल्म ‘डेनी डेन्जरस’ को घोषणा गरेका छन्।

ब्ल्याक हर्स पिक्चर्सको ब्यानरमा निर्माण हुन लागेको यो फिल्मको घोषणा बुधबार सार्वजनिक गरिएको एक थिम पोस्टर मार्फत गरिएको हो।

एक्सन जनरामा आधारित यो फिल्म सन् २०२५ मा रिलिज गर्ने योजना छ। घोषणासँगै सार्वजनिक गरिएको पोस्टरले फिल्म ग्याङ्स्टर शैलीलाई प्रतिबिम्बित गर्छ, जहाँ बन्दुक र चक्कुजस्ता हतियारहरू रगतले रङ्गिएका देखिन्छन्।

गत वर्ष ‘दिमाग खराब’ निर्देशन गर्दै ६ वर्षपछि निर्देशनमा फर्किएका निश्चलको ‘डेनी डेन्जरस’ पाँचौं निर्देशन फिल्म हुनेछ। ‘लुट’ बाट चर्चा बटुलेका निश्चलले त्यसपछि ‘लुट २’, ‘टलकजंग भर्सेज टुल्के’, र ‘दिमाग खराब’ जस्ता सफल फिल्म निर्देशन गरिसकेका छन्।

‘डेनी डेन्जरस’ को छायांकन तिहारपछि सुरु हुने तयारी छ भने फिल्ममा अभिनय गर्ने कलाकारहरूको नाम छिट्टै सार्वजनिक गरिने बताइएको छ। निश्चलले ‘डेनी डेन्जरस’ पछि ‘दिमाग खराब’ को सिक्वेल निर्माण गर्ने घोषणा गरेका छन्, जुन २०८३ सालको दसैँमा रिलिज गरिनेछ।

यस्तै, निश्चल र उनकी श्रीमती स्वस्तिमा खड्काले मिलेर निर्माण गरेको फिल्म ‘बेहुली फ्रेम मेघौली’ यही दशैँको घटस्थापनाको दिन असोज १७ गतेबाट प्रदर्शन हुँदैछ, जसमा निश्चलले मुख्य भूमिका निर्वाह गरेका छन्।


ताजा खबर