‘रंगी’को स्क्रिप्ट पूजा, मुख्य भूमिकामा सलोन र नम्रता

सलोन सलिना फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुने फिल्म ‘रंगी’ को स्क्रिप्ट पूजा गरिएको छ। घटस्थापनाको अवसरमा बिहीबार राजधानीको कमलादीस्थित गणेशस्थान मन्दिरमा स्क्रिप्ट पूजा सम्पन्न भएको हो। यो फिल्मको प्रस्तुतकर्ता अभिनेता सलोन बस्नेत रहेका छन्।

सुरेश न्यौपानेको निर्देशनमा बन्न लागेको यो फिल्मको स्क्रिप्ट पूजामा अभिनेता सलोन बस्नेत, अभिनेत्री नम्रता श्रेष्ठ, निर्देशक सुरेश न्यौपाने लगायतका व्यक्तित्वहरूको उपस्थिति थियो।

फिल्म ‘रंगी’ मा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आरुषी कार्की, विशाल पहारी र सुमिन गुरुङले अभिनय गर्नेछन्। फिल्मको छायांकन आउँदो कार्तिक ५ गतेबाट सुरु हुने योजना रहेको छ।

सुरेश न्यौपाने यस फिल्ममार्फत निर्देशनमा डेब्यु गर्दैछन्। उनले यसअघि ‘छक्का पन्जा’, ‘ए मेरो हजुर २’, ‘यात्रा’, ‘म यस्तो गीत गाउँछु २’, ‘कृ’ लगायतका सफल फिल्ममा मुख्य सहायक निर्देशकको रुपमा काम गरिसकेका छन्।

फिल्मको टाइटल पोस्टर पनि सार्वजनिक भइसकेको छ, जहाँ साइकलमा बसिरहेकी एक बालिका र उनीसँग खेल्दै गरेका एक पुरुष देखिएका छन्। पृष्ठभूमिमा सूर्यास्तको दृश्यले बाबु-छोरीको सम्बन्धलाई संकेत गरेको देखिन्छ, जसले गर्दा फिल्मले बाबु-छोरीको कथालाई चित्रण गर्ने अनुमान गरिएको छ।

फिल्म ‘रंगी’ को निर्माण सक्षम सुवेदीले गर्नेछन् भने सुमन गजमेरले लेखन, सौरभ लामाले छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीले संगीत, कविराज गहतराज र शिशिर खातीले कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतले प्रोडक्सनको जिम्मेवारी सम्हाल्नेछन्।


ताजा खबर