‘बेहुली फ्रम मेघौली’को ‘वाच एण्ड विन’ योजना अन्तर्गत पहिलो विजेता घोषित, पहिलो दिनको कलेक्सन ८० लाख

हाल प्रदर्शनरत नेपाली फिल्म ‘बेहुली फ्रम मेघौली’ ले दर्शकहरूलाई आकर्षित गर्न अनलाइन टिकट खरिदमा विशेष अफर ल्याएको थियो । यो अफर अन्तर्गत हरेक दिन एकजना भाग्यशाली दर्शकले एमआई मोबाइल जित्ने अवसर पाउँछन् भने मुख्य पुरस्कारस्वरूप २ लाख ७७ हजार रुपैयाँ पर्ने न्यूहको गोवा ०३ इलेक्ट्रीक स्कुटर जित्न सक्ने योजना ल्याएको थियो।

फिल्मको निर्माण टिमले सात दिनसम्म यो अफर सञ्चालन गर्ने घोषणा गरेको छ। यस योजनामा सहभागी हुन चाहने व्यक्तिले नेपालकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्सको अनलाइन प्लेटफर्ममार्फत टिकट काटेर सिनेमा हेर्नुपर्नेछ। खल्ती एप वा क्युएफएक्सको वेबसाइटबाट टिकट खरिद गर्नुपर्ने सर्त राखिएको छ, हलमा गएर काटिएको टिकट मान्य हुने छैन।

यस योजनाअन्तर्गत पहिलो दिनको विजेता श्रद्धा प्रसाईँलाई एमआई मोबाइल प्रदान गरिएको छ। उनले झापाको बिर्तामोडस्थित सिनेम्याक्स वानस्टप मलमा आयोजित कार्यक्रममा पुरस्कार प्राप्त गरिन्। ‘वाच एण्ड विन’ योजनामा अन्य विजेताहरू पनि दैनिक रूपमा घोषणा गरिँदै जाने निर्माण टिमले जनाएको छ।

फिल्मको व्यापारमा पनि राम्रो उत्साह देखिएको छ। ‘बेहुली फ्रम मेघौली’ ले बिहीबार घटस्थापनाको अवसरमा देशभरका सिनेमा घरबाट ८० लाख रुपैयाँको ग्रस कलेक्सन गरेको वितरक अशोक शर्माले जानकारी दिए। यस दिन फिल्मलाई देशभर ३४० भन्दा धेरै शोहरू दिइएको थियो, जुन नेपालमा पहिलो पटक यति ठूलो संख्यामा शो प्राप्त गरेको फिल्म हो।

‘बेहुली फ्रम मेघौली’ मा निश्चल बस्नेत र स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको छ भने साथमा बसुन्धरा भुषाल, विजय बराल, सिमरन खड्का लगायतका कलाकारहरूको अभिनय रहेको छ। सजन काफ्ले र आकाश बरालले लेखन तथा निर्देशन गरेको यो फिल्ममा स्वस्तिमा खड्काले निर्माणमा निश्चल बस्नेतलाई सघाएकी छन्।


ताजा खबर