भुइँमान्छेको कथा भन्दै ‘पूर्णबहादुरको सारङ्गी’को ट्रेलर सार्वजनिक

कात्तिक १५ गते रिलिज हुने बहुप्रतिक्षित नेपाली चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को ट्रेलर सार्वजनिक भएको छ । आज एक कार्यक्रम गर्दै निर्माणपक्षले ट्रेलर सार्वजनिक गरेको हो ।

ट्रेलरमा गन्दर्भ समुदायको पुर्ख्यौली पेसा, दुःख, प्रेम, बिछोड र शैक्षिक अवस्थालाई देखाइएको छ । गन्दर्भ भएकै कारण उनीहरुलाई समाजले कसरी भुइँमान्छे बनाइरहेको छ भन्ने कथा ट्रेलरमा देख्न सकिन्छ ।

सरोज पौडेलको कथा तथा निर्देशन रहेको चलचित्रमा विजय बराल, मुकुन भुसाल, अञ्जना बराइली, प्रकाश सपूतलगायत कलाकारको अभिनय देख्न सकिन्छ ।

चलचित्रमा बुद्धि तामाङ, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिसा बास्तोला, स्वायम् केसी, जान्वी पौडेललगायतको अभिनय छ ।

सेभेन सिज सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको यो चलचित्रको निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन्, भने कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ, र रमेश ढकाल रहेका छन् ।

चलचित्रमा ‘पूर्ण बहादुरको सारङ्गी’ गन्धर्व समुदायको जीवन र सामाजिक समस्यालाई केन्द्रमा राखेर निर्माण गरिएको सामाजिक कथावस्तुमा केन्द्रित सिनेमा रहेको निर्माता पौडेलले बताए ।

चलचित्रको मुख्य भूमिकामा रहेका विजय बराल टिजर सार्वजनिक भएसँगै दर्शकको प्रतिक्रिया र मायाले हौसिएका छन् । आफ्नो कामको तारिफ हुँदा खुसी लागेको भन्दै उनी भन्छन्, “यसपटक अझ बढी खुसी छु । आफ्नो कामले सकारात्मक प्रतिक्रिया पाउँदा ऊर्जा मिलेको छ । कलाकारको हिसाबले धेरैपछि फरक तरिकाले काम गर्न पाएँ ।”

दर्शकले कमेडी जनरामा अथवा केही फरक तरिकाले देख्दै आए पनि यसपटक मुख्य चरित्रमा र त्यो पनि व्यक्तिभन्दा पात्रलाई स्थान दिँदा त्यसको परिणामको प्रतिक्रिया आइरहेको उनी बताउँछन् । आफूले ‘पूर्णबहादुरको सारङ्गीमा विशेष चरित्रमा भिजेर काम गर्न पाएको उनले बताए ।

“मलाई टिजर र ट्रेलरमा जसरी देखाइएको छ, त्यो पात्रको इमोशनले पनि धेरैको ध्यान तानेको जस्तो लाग्छ,” उनी भन्छन्, “मलाई धेरैले व्यक्तिगत रूपमा त्यही प्रतिक्रिया आइरहेको छ । ट्रेलर हेरेर विजयले चरित्रअनुसार न्याय गर्नसक्छ भन्ने भाव पैदा गराइएको छ ।”

निर्देशक पौडेलले आफूहरूले आफ्नै गाउँ–ठाउँ र माटोको कथा भन्नुपर्छ भनेर यो विषय रोजेको र त्यसको उचित मूल्यांकन हुने अपेक्षा लिएको बताए ।

“हामीले चलचित्रमा जे कुरा भन्दै छौँ र टिजर र ट्रेलरमा जे देखाएका छौं वास्तवमा यो हामी आम निम्न मध्यमवर्गीय परिवारका नेपालीको कथा हो,” निर्देशक पौडेलले भने, “धेरैलाई आफ्नै कथाजस्तो लाग्छ होला, कतिलाई आफ्नै टोल छिमेकमा देखेको विषय र घटना जस्तो आभास हुन्छ होला ।”

संगीतकार प्रशान्त शिवाकोटीले संगीत दिएको चलचित्रमा हेमन्त कान्छा रसाइलीको सारङ्गी र प्रशान्त शिवाकोटी, मेलिना राई, तथा पुष्पन प्रधानको स्वर रहेको छ ।

चलचित्रको संवाद महेश दवाडीले लेखेका हुन् । निर्माता बिनोद पौडेल, प्याट्रिक सुवेदी हुन् । कार्यकारी निर्मातामा रमेश चौलागाई, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।


ताजा खबर