छायाङ्कन अगावै ‘कर्मा’को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री

चलचित्र ‘कर्मा’ले छायाङ्कन सुरु हुनु अगावै आफ्नो अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री गर्न सफल भएको छ । सौरभ चौधरीको निर्देशनमा बन्न लागेको यो एक्सन ड्रामा जनराको चलचित्रको इन्टरनेशनल राइट्स ‘सेभेन सिज इन्टरटेन्मेन्ट’ले खरिद गरेको हो ।

चलचित्रको मुख्य भूमिकामा अभिनेता विपिन कार्की रहेका छन्, जसले आफ्नो दमदार अभिनयको लागि पहिल्यै चर्चा कमाइसकेका छन् । मंसिर दोस्रो सातापछि छायाङ्कन हुने तयारीमा रहेको ‘कर्मा’ आगामी चैत २९ गते प्रदर्शनमा आउने घोषणा गरिएको छ ।

केही दिन अघि सार्वजनिक भएको पोस्टरमा विपिन कार्कीलाई जिममा, शारीरिक रूपमा फिट बडीसहितको लुकमा प्रस्तुत गरिएको थियो । जसले चलचित्रमा उनको चरित्र शारीरिक रूपमा चुनौतीपूर्ण भूमिकामा हुने संकेत गर्दछ ।

निर्देशक चौधरीको तेस्रो प्रोजेक्ट हो । तीन वर्षअघि उनी निर्देशित ‘लभ डायरिज’ रिलिज भएको थियो । उनले यसअघि निर्देशन गरेको ‘अगस्त्य: च्याप्टर–१’ बाट तारिफ पाएका थिए ।

‘कर्मा’को कथा पनि चौधरी आफैंले लेखेका हुन् । निर्देशक चौधरीलाई ‘अगस्त्य: च्याप्टर–१’बाट दर्शकहरू र समीक्षकहरूको राम्रो प्रतिक्रिया प्राप्त भएको थियो, जसले गर्दा ‘कर्मा’प्रति पनि उच्च अपेक्षा गरिएको छ।

‘कर्मा’मा बसन्त लम्सालले लगानी रहने छ । चलचित्रको अन्य कलाकार तथा कथावस्तुबारे निर्माणपक्षले हालसम्म धेरै जानकारी खुलाएको छैन । निर्माणपक्षका अनुसार कलाकार अनुबन्ध गर्ने क्रम जारी रहेको बताइएको छ । निर्देशक चौधरीले छायाङ्कन सुरु भएपछि थप जानकारी दिने बताएका छन् ।


ताजा खबर