‘देववाणी’ को टिजरमा नागरिकहरूको रक्षा गर्न गरेको संघर्ष

आगामी मंसिर ७ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘देववाणी’ को टिजर सार्वजनिक भएको छ। निर्देशक बाबु साहेब बलामीको निर्देशनमा तयार भएको यो फिल्मको टिजर मंगलबार ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो।

टिजरमा मुख्य अभिनेता कुन्दन भारद्वाजले आफ्नो गाउँका नागरिकहरूको रक्षा गर्न गरेको संघर्षलाई प्रस्तुत गरिएको छ। टिजरले एक्सन, रोमान्स, र थ्रिलरको मिश्रणलाई चित्रण गरेको छ। साथमा, कुन्दन भारद्वाजसँगै अभिनेत्री अनुजा लेप्चा, वरिष्ठ कलाकार सुनिल थापा, रविन्द्र झा, ध्रुव कोइराला, र भारतीय कलाकार ह्यारीको दमदार भूमिका पनि झल्किएको छ।

‘देववाणी’ फिल्म मौसम फिल्म्स प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको हो। यसमा कुन्दन भारद्वाज, अनुजा लेप्चा, सुनिल थापा, ध्रुब कोइराला, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, लक्ष्मीनाथ तिमल्सिना, ह्यारी र मौसम पौडेलले प्रमुख भूमिका निर्वाह गरेका छन्।

फिल्मका निर्माताहरू मिना खड्का र हिराबहादुर लेप्चा हुन् भने कार्यकारी निर्मातामा मनकुमार लेप्चा र रमेश ढुंगेल ‘झापाली’ छन्।

यो नेपाली र हिन्दी भाषामा निर्माण भएको फिल्म नेपालका सिमरा, वीरगञ्ज, इटहरी, काठमाडौं तथा भारतका विभिन्न स्थानहरूमा छायांकन गरिएको हो। फिल्मको पटकथा र संवाद निराजन मेहता मन्जिलले लेखेका हुन् भने छायांकनको जिम्मेवारी हरिबहादुर घलेले सम्हालेका छन्।

फिल्मको द्वन्द्व श्री श्रेष्ठ र देव महर्जनले सम्हालेका छन् भने रामजी लामिछाने र तेन्जु योञ्जनले कोरियोग्राफी गरेका छन्। मनोहर सुनाम र सन्तोष प्रगाढले संगीत दिएका छन् भने बन्दे प्रसादले सम्पादनको काम गरेका छन्। टिजर र ट्रेलरको कलर सम्पादन प्रविण ढकालले गरेका हुन्, भने भीएफएक्सको जिम्मा सत्यम रानाले सम्हालेका छन्। प्रमोद परियारको ब्याकग्राउण्ड स्कोर र रञ्जित मण्डलको साउण्ड डिजाइन् रहेको छ।

फिल्ममा तर्कराज न्यौपाने मुख्य सहायक निर्देशकको रूपमा रहेका छन्। ‘देववाणी’ ले दर्शकलाई एक्सन, रोमाञ्चकता र सामाजिक सन्देशको मिश्रण पस्कने अपेक्षा गरिएको छ।


ताजा खबर

No comments to show.