‘ह्रस्व दीर्घमा धर्मसँग सम्बन्धित कुरा भए पनि पूर्ण रुपमा धार्मिक छैन’

कात्तिक ३० गतेबाट फिल्म ‘ह्रस्व दीर्घ’ नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउने तयारीमा रहेको छ । अहिले सिनेमाको निर्माण टिम प्रचारप्रसारको दौडधुपमा रहेको छ ।

नेपाली र दक्षिण भारतीय कलाकारहरुको अभिनय रहेको ‘ह्रस्व दीर्घ’मा एउटै नक्षत्र, ग्रह र भाग्य भएका प्रेम जोडीको सम्बन्ध र उनीहरुको जीवनमा आउने आरोह-अवरोहलाई दर्शाउन खोजिएको छ । 

सोमबार फिल्मका निर्देशक चन्द्र पन्त, नायक हरिहर अधिकारी, नायिका नीता ढुंगाना र अभिनेत्री विपना थापाले ‘ह्रस्व दीर्घ’ बारे विस्तृत जानकारी दिएका थिए । पत्रकार सम्मेलनमा उनीहरुले ‘ह्रस्व दीर्घ’ परिवार, सम्बन्ध र प्रेमका संघर्षको कथालाई प्रस्तुत गर्दै दुबै देशका दर्शकलाई नेपाली सिनेमा प्रति आकर्षित गर्न सकेको दाबी गरे ।

निर्मात्री तथा नायिका नीताले आफू कलाकार नभई निर्माता मात्र बन्न पाए हुन्थ्यो भन्ने लागे पनि अहिले दुवै भूमिका निभाउन बाध्य हुनुपरेको सुनाइन् । यो फिल्म आफूले निर्देशन गर्ने भने पनि कथा सकिएपछि काम गर्न आफू पछि हटेको बताइन् ।

उनले भनिन्, ‘अभिनयसँगै निर्माता बन्ने अनुभव निकै गाह्रो हुने रहेछ। क्यामेराअघि शतप्रतिशत दिनुपर्छ भने क्यामेरापछाडि तनावलाई पनि सम्हाल्नुपर्ने हुन्छ। यसमा आफूलाई अझै ठूलो प्रोजेक्ट बनाउन सक्ने आत्मविश्वास पाएको छु ।’

नीताले नेपाली र भारतीय निर्माताको सहकार्यमा ६-७ करोड रुपैयाँको फिल्म बनाएको कुरा गरिन् । उनले भनिन्, ‘अहिले लगभग ६–७ करोडको फिल्म बनायौं होला । भोलि गएर ५० करोडको फिल्म बनायौं भनेपनि त्यो किसिमको आँट चाहिं बटुलेकी छु । फिल्मको म्यानेज गर्न सक्छु भन्ने छ ।’

यो चलचित्रका नायक तथा पटकथाकार हरिहर अधिकारीले सिनेमाको छायांकन राम्रो साइतमा गरिएकाले सुटिङ निर्धारित ४३ दिनमै सकिएको बताए । उनले भने, ‘सुटिङको साइत ज्योतिष विधा अनुसार नै निकालेर काम गरेका थियौं । त्यसमा हामी सफल भयौं । तर पोस्ट प्रोडक्सनको काममा ज्योतिष विधाको कुनै हात हुँदैन । जसकारण पोस्ट प्रोडक्सनमा समय लाग्यो ।’

‘मेरो पेशा ज्योतिष भए पनि यो फिल्म केवल ज्योतिष र धर्म-संस्कृतिमा आधारित छैन ।’ उनले थप प्रष्ट्याउँदै भने, ‘कथामा केही अंशमा भने ज्योतिष र धर्म-संस्कृतिका पाटाहरू आएका होलान्, तर फिल्मको सम्पूर्ण कथा यी विषयसँग सम्बन्धित छैन।’

हरिहरले आफ्नो यो दोस्रो फिल्म भएकाले वरिष्ठ कलाकारहरूसँग काम गर्दा सुरुमा केही चुनौतीको सामना गर्नुपरेको अनुभव सुनाए । ‘सुरुमा निकै गाह्रो भयो, तर सबैले सहयोग गरेपछि काम सहज बन्यो,’ उनले भने, ‘शुभ लभ’बाट धेरै सिके, पहिलो फिल्मले नै मेरो गल्ती सुधार्ने अवसर दियो । यस पटक ‘ह्रस्व दीर्घ’मा म आफूलाई अझ बलियो बनाउन खोजिरहेको छु ।’

यस्तै, हरिहरले आफू सुरुवात देखि कलालाई माया गर्ने र कालाकारसँगै नै विवाह गरेकाले कलाकारिता क्षेत्रमा लागेको बताए । ‘मलाई यो क्षेत्रको माया लागेर फिल्ममा काम गरेको हो । हरेक क्यारेक्टरले कथा बोकेको हुन्छ, मैले पनि त्यही कथा बोकेको छु’, उनले भने ।

निर्देशक चन्द्र पन्तले फिल्ममा धर्मसँग सम्बन्धित कुरा भए पनि फिल्म पूर्ण रुपमा धार्मिक नभएको जिकिर गरे । ‘ यो फेमिली र लभस्टोरी ड्रामा हो, जसमा संवेदना र सम्बन्धको कथा छ ‘ उनले भने, ‘फिल्म धार्मिक कथावस्तुमा आधारित नभए पनि धर्मसँग केही सन्दर्भ समेटिएको छ ।’

अभिनेत्री विपना थापा, जो यस फिल्मबाट पुनरागमन गर्दैछिन्, उनले नेपाली कलाकारलाई विश्वभर चिनाउनुपर्ने सोचले फिल्ममा सहभागी हुने निर्णय गरेको बताइन् ।

उनले भनिन्, ‘सानैदेखि हलिउड र बलिउड कलाकारलाई चिनिन्थ्यो । हाम्रा नेपाली कलाकारलाई पनि ती ठाउँका कालकारले चिनोस् न भन्ने सानैदेखिको मेरो सपना थियो । यो फिल्म माध्यम बन्ला जस्तो लाग्यो, त्यो सुनेर गर्ने निर्णय गरेँ ।’

यस्तै, विपनाले यस सिनेमामा आफूले आमाको भूमिका निभाएको खुलाउँदै यो क्यारेक्टरको लागि प्रस्ताव आउँदा शरीरमा रौं उम्रिएको दाबी गरिन् ।

नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको ‘ह्रस्व दीर्घ’मा हरिहर अधिकारी, नीता ढुंगानार विपना थापासँगै दक्षिण भारतीय फिल्मका चर्चित कलाकार ब्रह्मानन्दम, सुनिल वर्मालगायतको समेत अभिनय देख्न पाइनेछ ।

सिनेमाको कार्यकारी निर्माता धनन्जय गलानी छन् भने निर्देशक पन्तको यो पहिलो नेपाली निर्देशन हो, जो यसअघि भोजपुरी सिनेमा तथा नेपाली सिनेमामा द्धन्द्व निर्देशन गर्दै आएका थिए ।

हरिहर अधिकारीद्वारा लिखित कथामा प्रतीक पौडेल, चन्द्र पन्त, र हरिहर अधिकारीकै पटकथा तथा संवाद रहेको छ । सिनेमाको सिनेमाटोग्राफी बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले गरेका छन् ।

‘ह्रस्व दीर्घ’ को पोस्टर डिजाइन विजय वस्यालले गरेका हुन् भने मनोज राठी र उज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्टले यसलाई वितरण गर्दैछन् ।


ताजा खबर