सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भइरहेको फिल्म ‘रंगी’ को छायांकन २६ दिनमा पूरा भएको छ। सलोन बस्नेत प्रस्तुतकर्ता रहेको यो फिल्म सुरेश न्यौपानेको निर्देशनमा बनेको हो। निर्धारित ३० दिनको समय तालिकाभन्दा ४ दिन अगाडि नै फिल्मको छायांकन सम्पन्न भएको जानकारी निर्माण पक्षले दिएको छ।
फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ र विशाल पहारीको अभिनय रहनेछ। निर्देशक सुरेश न्यौपाने यस फिल्ममार्फत निर्देशनमा डेब्यू गर्दैछन्। यसअघि उनले ‘छक्का पन्जा’, ‘ए मेरो हजुर २’, ‘यात्रा’, ‘म यस्तो गीत गाउँछु २’ र ‘कृ’ जस्ता फिल्ममा मुख्य सहायक निर्देशकको रूपमा काम गरेका थिए।
सक्षम सुवेदीले निर्माण गरेको ‘रंगी’ मा सुमन गजमेरको कथा लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी, र केवलमान सिंह बस्नेतको प्रोडक्सन व्यवस्थापन रहेको छ।
निर्माण टिमका अनुसार फिल्मको छायांकन अनुभव उत्कृष्ट रह्यो, अब फिल्मको पोस्ट प्रोडक्सन प्रक्रिया अघि बढ्ने र फिल्मलाई दर्शकहरूमाझ छिट्टै प्रदर्शन गरिने तयारी भइरहेको छ।
‘रंगी’ बाबु छोरीको कथालाई चित्रण गर्ने एउटा भावनात्मक कथावस्तुमा आधारित मनोरञ्जनात्मक फिल्मको रूपमा निर्माण गरिएको निर्माण पक्षले बताइएको छ।