‘दुःखी आत्मा’को पोस्टरमा रोमान्टिक दयाहाङ र आँचल

फागुन २ गते भ्यालेन्टाइन डेको अवसरमा प्रदर्शनमा आउने फिल्म ‘दुःखी आत्मा’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ।

दीपेन्द्र लामाको निर्देशनमा तयार भएको यो फिल्मका तीनवटा पोस्टर सोमबार सार्वजनिक गरिएका छन्। ती पोस्टरले फिल्मका पात्रहरूको भावना र मुडलाई दर्शाउँछन्।

पोस्टरले फिल्मप्रति दर्शकमा कौतुहलता बढाउने विश्वास निर्माण टोलीले व्यक्त गरेको छ।

पहिलो पोस्टरमा अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्मा बीचको रोमान्टिक क्षण देखाइएको छ। पोस्टरमा दयाहाङले आँचलको निधारमा माया गर्दै चुमिरहेका छन्। दोस्रो पोस्टरमा दयाहाङलाई हेडफोन लगाएर मोबाइलमा केही हेर्दै देख्न सकिन्छ। तेस्रो पोस्टरमा भने दयाहाङ र आँचलसँगै अनुप विक्रम शाही, बुद्धि तामाङ, अशान्त शर्मा, लोकेन्द्र लेखक र रेअर राईलाई पनि चित्रित गरिएको छ।

यो फिल्मको लेखन निर्देशक लामा स्वयंले गरेका हुन् भने निर्माण हिमाल कडरियाले गरेका छन्। यसअघि निर्देशक लामा र निर्माता कडरियाले ‘नाङ्गो गाउँ’ जस्तो हिट फिल्ममा सहकार्य गरेका थिए। दीपेन्द्र लामा पत्रकारिताबाट फिल्म निर्देशनमा प्रवेश गरेका हुन्। उनले यसअघि ‘छ माया छपक्कै’, ‘घामपानी’, ‘२ नम्बरी’ र ‘गोपी’ निर्देशन गरेका थिए। ‘दुःखी आत्मा’ उनको छैटौँ फिल्म हो।

क्लक वर्क क्रिएसनको ब्यानरमा निर्माण भएको फिल्ममा सुदीप ढकाल कार्यकारी निर्माता छन्। फिल्ममा दीया मास्केको पनि महत्त्वपूर्ण भूमिका छ। साथै, चर्चित कवि श्रवण मुकारुङका १० वटा कविताहरू समेटिएका छन्, जसलाई दयाहाङको पात्रसँग जोडेर फिल्ममा समावेश गरिएको छ।

आलोक शुक्लाले छायांकन गरेको फिल्मको सम्पादन निमेष श्रेष्ठले गरेका हुन्।


ताजा खबर