‘जुनाः एक व्यथा’ को टिजर सार्वजनिक, बाल विवाह र महिला हिंसाका विरुद्ध आवाज

बाल विवाह र महिला हिंसा जस्ता सामाजिक अपराधलाई निरुत्साहित गर्ने उद्देश्यले निर्माण गरिएको बहुप्रतिक्षारत नेपाली फिल्म ‘जुनाः एक व्यथा’ को टिजर सार्वजनिक भएको छ। गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च प्रालिको ब्यानरमा निर्माण भएको यो फिल्म आगामी माघ २५ गते दर्शकमाझ आउने तयारीमा छ। फिल्मको निर्देशन जीवन सेञ्चुरीले गरेका छन्।

ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको टिजरमा प्रमुख पात्र अस्मिता ढकालको मार्मिक र पीडादायक जीवनलाई देखाइएको छ। टिजरले विशेषगरी अनमेल विवाहले एउटी नारीको जीवनमा पर्ने गहिरो प्रभावलाई उजागर गर्ने प्रयास गरेको छ। अस्मिता ढकालको अभिनयले समाजमा व्याप्त महिला हिंसा र बाल विवाहका कुप्रथाको दर्दनाक रूपलाई स्पष्ट रूपमा चित्रण गरेको छ।

टिजरमा अस्मितासँगै कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, अनिता बस्नेत, कमल बोहोरा लगायतका कलाकारहरूको उपस्थिति देख्न सकिन्छ। फिल्ममा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, कमल बोहोरा, अस्मिता बस्नेत र खगेन्द्र न्यौपानेको दमदार अभिनय छ।

निर्देशक जीवन सेञ्चुरीले फिल्मले ‘बाल विवाह सामाजिक अपराध हो, त्यसकारण यसलाई अन्त्य गरौं’ भन्ने नारा लिएको बताए। उनका अनुसार फिल्मले बाल विवाह, महिला हिंसा, अनमेल विवाह, बहुविवाह, बलात्कार, जबरजस्ती करणी, छाउपडी जस्ता कुप्रथाहरूको अन्त्य गर्ने सन्देश प्रवाह गर्ने प्रयास गरेको छ।

‘जुनाः एक व्यथा’ को कथा नेपाल सरकारद्वारा सन् २०३० सम्ममा बाल विवाह अन्त्य गर्ने लक्ष्यलाई सघाउने उद्देश्यले तयार पारिएको छ। निर्देशक सेञ्चुरीका अनुसार यो फिल्म नेपाली समाजका यस्ता समस्याहरूलाई उजागर गर्ने ऐतिहासिक र विशिष्ट फिल्म हो।

फिल्मको छायांकन पर्वत जिल्लाको सालिजा ओख्रेनी गाउँमा गरिएको हो। फिल्म निर्माणमा दीपकप्रसाद घिमिरेले लगानी गरेका छन्। राजबहादुर सानेको कथा रहेको यस फिल्ममा बीबी अनुरागी र रमेश सेञ्चुरीले संगीत भरेका छन् भने जीवन सेञ्चुरी र भीमबहादुर पौडेलले गीतको शब्द रचना गरेका छन्। फिल्मका गीतहरूमा अञ्जु पन्त, पूर्णकला बिसी र यदुराई लकान्द्रीको आवाज सुन्न सकिन्छ।

फिल्मको छायांकन रामेश्वर हुमागाईंले गरेका छन्। फिल्मलाई एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट, र एफडी कम्पनीले वितरण गर्नेछ।

फिल्मको टिजरले दर्शकलाई निकै प्रभावित बनाएको छ। सामाजिक सन्देश बोकेको यस फिल्मले बाल विवाह र महिला हिंसाका विरुद्ध जनचेतना फैलाउन मद्दत गर्ने विश्वास गरिएको छ।

अब दर्शकहरू माघ २५ गते यस फिल्मलाई पर्दामा हेर्ने प्रतीक्षामा छन्। ‘जुनाः एक व्यथा’ नेपाली समाजमा व्याप्त कुप्रथाको अन्त्य गर्न ठूलो योगदान दिने अपेक्षा गरिएको छ।


ताजा खबर

No comments to show.