अभिनेत्री सुरक्षा पन्तले अभिनेता प्रेमी मानव सुवेदीसँग विवाह गरेकी छन् ।
पन्त र सुवेदीले बिहीबार चितवनस्थित एक रिसोर्टमा उनीहरुले दुई पक्षको परिवारका सदस्यहरुको उपस्थितिमा लगनगाँठो कसेका हुन् । सामाजिक सञ्जाल फेसबुकमार्फत तस्वीर सार्वजनिक गर्दै पन्तले विवाह गरेको जानकारी दिएकी हुन् ।
पन्त र सुवेदीले बुधबार इन्गेजमेन्ट गरेका थिए । उनीहरूको विवाह चितवनको सौराहामा भएको हो । पन्तले विवाहको तस्वीरसँगै मेहन्दी समारोहको तस्वीर पनि सार्वजनिक गरेकी छन् ।
विवाहको तस्वीर फेसबुकमा राख्दै पन्तले शुभ विवाह लेखेकी छन् । तस्वीरमा दुवैले टीका र फूलमाला लगाउँदै मुस्काएका छन् ।
करिब ६ वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका सुरक्षा र मावनले केही म्यूजिक भिडियोमा सहकार्य गरिसकेका छन् । सुरक्षाका श्रीमान् मानव गायक तथा निर्देशक पनि हुन् । फिल्म ‘अन्तराल’बाट अभिनय करिअरको सुरुवात गरेका उनले ‘नेपथ्य’, ‘चिनी कम रंग कडा’ फिल्ममा अभिनय गरेका छन् भने ‘पैसा फल्ने बोट’, ‘आँखामा तिम्रो’ आदि गीतमा आवाज पनि दिएका छन् ।
त्यस्तै, इन्जिनियरिङको अध्ययन गरेर फिल्म ‘सुस्केरा’बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी सुरक्षाले ‘भैरे’, ‘गोपी’, ‘चंगा चेट’, ‘आमा’, ‘धनपति’, ‘के घर के डेरा’ लगायतका फिल्महरुमा अभिनय गरिसकेकी छन् । उनको दुई नयाँ फिल्म ‘बहाव’ आगामी चैत २४ गते र ‘बुलाकी’ आगामी बैशाख १ गतेबाट प्रदर्शनमा आउने तयारीमा छन् । यतिबेला सुरक्षा ‘द पोयट आइडल’को निर्णायकमा छिन् ।