तीन घण्टामै ‘दुखी आत्मा’को ट्रेलर ट्रेन्डिङमा, दर्शकको उत्साहजनक प्रतिक्रिया

काठमाडौं । सार्वजनिक भएको तीन घण्टामै फिल्म ‘दुखी आत्मा’को ट्रेलर युट्युबको ट्रेन्डिङमा प्रवेश गरेको छ। युट्युबको सिनेमा सेक्सनअन्तर्गत चौथो स्थानमा ट्रेन्डिङमा रहेको ट्रेलरले दर्शकको राम्रो साथ पाइरहेको छ।

दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मले यौन दुर्बलताको कथा भन्छ। फिल्ममा दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय छ। दयाहाङ राई फरक भूमिकामा देखिएकाले दर्शक उनीप्रति आकर्षित देखिन्छन्।

फिल्मको ट्रेलर नेपाल मात्र नभई जापान, कतार र अष्ट्रेलियामा पनि ट्रेन्डिङमा परेको छ। यसअघि सार्वजनिक गरिएको फिल्मका गीत, ‘ब्रेकअप’ कविता र टिजरले समेत राम्रो चर्चा पाइसकेको छ।

क्लर्क वर्क क्रियशनको व्यानरमा निर्माण भएको फिल्मका निर्माता हिमाल कडरिया हुन् भने कार्यकारी निर्माता सुदीप ढकाल रहेका छन्। फिल्ममा कवि श्रवण मुकारूङका १० वटा कविता समावेश छन्।

फिल्म ‘दुखी आत्मा’ फागुन २ गते, प्रेम दिवसको अवसर पारेर प्रदर्शनमा आउँदैछ। दर्शकको सकारात्मक प्रतिक्रिया पाएपछि निर्माण टोली पनि उत्साहित देखिएको छ।


ताजा खबर