चलचित्र ‘पहाड’को मुहूर्त गर्दै छायांकन सुरु गरिएको छ । निर्देशक तुलसी घिमिरेको निर्देशनमा तयार हुने सिनेमा मंगलवार गोरखा जिल्लाको गोर्खा दरबारमा पूजा गरेपछि छायांकन सुरु गरिएको हो ।
सात वर्षपछि निर्देशनमा कमब्याक गरेका घिमिरेले यसअघि ‘दर्पणछाया-२’ निर्देशन गरेका थिए। अब उनले ‘पहाड’ मार्फत नेपाली समाजको यथार्थ चित्रण गर्दै बसाइँसराइका कारण खाली हुँदै गएका पहाडी भेगको कथा प्रस्तुत गर्न लागेका छन्।
चलचित्रको मुहुर्त सट अभिनेता मदनकृष्ण श्रेष्ठ, अरुण क्षेत्री र डेब्यु अभिनेत्री पञ्चमी घिमिरेले दिएका थिए। चलचित्रको प्रमुख छायाङ्कन गोर्खा क्षेत्रमा २५ दिन र भारतमा १५ दिनसम्म हुने बताइएको छ।
निर्देशक घिमिरेका अनुसार चलचित्रले युवाशक्ति विदेश पलायन भएसँगै खाली भएका पहाड र त्यसले निम्त्याउने सामाजिक तथा आर्थिक समस्याको कथावस्तु समेट्नेछ।
उनले भने, ‘मानव बसोबासविहीन बनेको उच्च पहाडको कथा समेटिएको छ। चलचित्रले हाम्रो दायित्व र देशको आवश्यकतालाई चित्रण गर्छ। कलाकार छनोट गर्दा नयाँदेखि पुराना पुस्तासम्मलाई समेट्न पाउँदा उत्साहित छु।’
चलचित्र ‘पहाड’को निर्माता ओजस्वी केसी हुन् भने छायाङ्कन प्रमोद प्रधानले गर्नेछन्। प्रधानले भारतका चलचित्र, वेब सिरिज र टेलीफिल्ममा छायाङ्कन गरिसकेका अनुभवी प्राविधिक हुन्। उनले यसअघि तुलसी घिमिरेकै ‘अन्याय’, ‘कोसेली’, ‘चिनो’ र ‘दक्षिणा’मा समेत काम गरेका थिए।
चलचित्रमा विपीन कार्की, सुनिल थापा लगायतका कलाकारको पनि अभिनय रहनेछ। संगीतकार रञ्जित गजमेरले संगीत संयोजन गर्ने चलचित्रमा भारती घिमिरे क्रिएटिभ निर्देशकको भूमिकामा रहेकी छिन्।
यस चलचित्रलाई नेपालमा वैङ्कटेश इन्टरटेनमेन्ट र विदेशमा सेभेन सिज इन्टरनेशनल फिल्म्सले वितरण गर्नेछ।
छायाङ्कार प्रमोद प्रधान करिब ३० वर्षपछि नेपाली चलचित्रका लागि नेपाल फर्किएका छन्। नेपाली चलचित्र उद्योगमा लामो समयपछि फर्किएका प्रधानले निर्देशक तुलसी घिमिरेसँग पुनः सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरेका छन्।