छायांकनको समयदेखि नै विवादमा रहेको चलचित्र ‘प्रसाद २’का निर्माता सुवास थापाविरुद्ध बैंकिङ कसुरको जाहेरी दर्ता भएको छ ।
प्रसाद २ निर्माणको घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा थापाले निर्माताको रूपमा परिचय गराएका यो चलचित्रका पूर्व निमाता केशव पाण्डेले चलचित्र ‘प्रसाद २’ का निर्माता थापावरिुद्ध अर्का निर्माता केशव पाण्डेले मुद्धा दर्ता गरेका हुन् ।
थापाले चलचित्रको निर्माता बनाउने भन्दै पैसा लिएर ठगी गरेको भन्दै पाण्डेले उनी विरुद्ध ६२ लाख ५० हजार रुपैयाँको चेक बाउन्स र ठगी गरेको आरोप लगाउदै जिल्ला प्रहरी परिसर काठमाडौँमा सोमबार जाहेरी दर्ता गराएका हुन् ।
पाण्डेका अनुसार चलचित्र निर्माण गर्ने र मुनाफाबाट आएको रकम बाँड्ने भनेर थापाले उनलाई प्रलोभनमा पारेका थिए । ‘एक वर्षअघि उक्त रकम लगेको तर पटक-पटक ताकेता गर्दा पनि रकम फिर्ता नगरेपछि जाहेरी दिन बाध्य भएँ’, पाण्डेले भने ।
रोकिएको चलचित्रको काम पाण्डेले अगाडि बढाउने, फिल्मको ९०% अधिकार पाण्डेको हुने कागज समेत भयो। तर थापाले अर्केै निर्माता ल्याएर फिल्म निर्माण गरे पनि पेैसा फिर्ता गरेनन्। पैसा लिएर पछि आफूखुसी फिल्म निर्माण गरेको र पटक-पटक पैसा फिर्ता दिने भन्दै ठगी गरेकाले जाहेरी दर्ता गर्न बाध्य भएको पाण्डेले बताए।
पछिल्लो समय पैसा फिर्ता दिन एक साताको समय मागेको तर तोकिएको समयमा पनि पैसा फिर्ता नभएपछि सोमबार परिसरमा जाहेरी दर्ता गरेको उनले जानकारी दिए।
पाण्डे स्रोतका अनुसार थापाले गत माघ २९ गते नेपाल इन्भेष्टमेन्ट बैंक, कालिमाटी शाखामा रहेको खाताको चार वटा चेक दिएका थिए । तर साट्न जाँदा खातामा पर्याप्त मौज्दात रकम थिएन । पाण्डेले ‘प्रसाद २’को सेन्सर रोक्नका लागि केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)मा समेत निवेदन दिएका छन् ।
सुदर्शन थापाको निर्देशनमा बनेको ‘प्रसाद २’ आगामी चैत २४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ ।