काठमाडौं । एक्सन फिल्म ‘रणवीर’बाट अभिनय यात्रा सुरु गरेकी अभिनेत्री सुपुष्पा भट्टले पछिल्लो फिल्महरूमा प्रायः चञ्चले र उत्साही पात्रहरू निभाएकी थिइन्। तर यो पटक भने उनी केही फरक भूमिकामा देखिन लागेकी छिन्। यही चैत २९ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘पिताम्बर’ मा सुपुष्पा ‘बिहानी’ नामको विधवा पात्रको रुपमा प्रस्तुत हुँदैछिन्।
सुपुष्पाले आफ्नो चरित्रबारे बताउँदै भनिन्, “बिहानी इनोसन्ट छे, विधवा पनि। ऊ कसरी विधवा हुन्छे भन्ने जान्नका लागि त फिल्म हेर्नैपर्छ। ‘पिताम्बर’मा मैले गर्न चाहेको क्यारेक्टर पाइँ। यसमा फेज र ग्राफ दुवै छन्। उसको यात्रामार्फत दर्शकले कथाको गहिराइ महसुस गर्न सक्नेछन्।”
उनको डेब्यू फिल्म ‘रणवीर’ पनि एक्सन जनरामा आधारित थियो। तर उनले बताइन्, “रणवीर र पिताम्बर दुबै एक्सन बेस्ड भए पनि कथा फरक छ। मेरो भूमिका भने पहिलाको भन्दा धेरै फरक छ।”
फिल्मका सह-निर्माता पुरुषोत्तम प्रधानको निम्तोमा स्क्रिप्ट सुनेपछि फिल्ममा काम गर्न राजी भएकी सुपुष्पाले भनिन्, “पहिले योजना थिएन यो फिल्म गर्न। तर स्क्रिप्ट र मेरो पात्रले मन छोयो। नाइँ भन्नै सकिनँ।”
‘पिताम्बर’मा काम गरेपछि विधवाको जीवनप्रति गहिरो बुझाइ विकास भएको सुपुष्पाले बताइन्, “नेपाली समाजमा विधवाको जीवन बाँच्न गाह्रो हुँदो रहेछ। आफन्त वा प्रेम दिने कोही नभएपछि त्यो पीडा अझ चर्को हुन्छ। यो फिल्मले मलाई त्यो पाटो बुझ्न सहयोग गर्यो।”
मल्टिस्टार फिल्ममा काम गर्न पाएको अवसरलाई सुपुष्पाले सौभाग्य मानेकी छिन्। “धेरै कलाकारबीच आफूलाई स्थापित गर्नु चुनौतीपूर्ण हुन्छ। सुरुमा मेरो पात्रमा आफूले न्याय गर्न सक्छु कि सक्दिन भन्ने डर थियो। तर तयार भएर जाँदा त्यो डर हरायो,” उनले भनिन्।
निर्देशकको दृष्टिकोणप्रति पनि उनी सकारात्मक छिन्। “निर्देशक चाहे महिला होस् वा पुरुष, भिजन राम्रो हुनुपर्छ। यो फिल्ममा मैले यस्तै निर्देशकसँग काम गर्न पाएँ,” सुपुष्पाले भनिन्।
एक्सन फिल्मप्रति विशेष रुचि राख्ने सुपुष्पाले आगामी दिनमा पनि यस्ता फिल्ममा काम गर्ने इच्छा व्यक्त गरिन्। “मलाई एक्सन गर्न मन लाग्छ। राम्रो स्क्रिप्ट र भूमिका आयो भने पक्कै गर्छु,” उनले भनिन्।