‘कुस्ती’को छायाकंन सम्पन्न, भदौमा प्रदर्शन हुने

काठमाडौं । अभिनेता बुद्धि तामाङको पहिलो निर्माण रहेको चलचित्र ‘कुस्ती’को छायाकंन सम्पन्न भएको छ ।

आउँदो वर्ष विसं २०८२ को भदौमा प्रदर्शन हुने सिनेमाको काठमाडौं आसपासका क्षेत्रमा ३९ औँ दिन लगाएर छायाकंन गरिएसँगै इन्डक्ल्याप गरिएको हो ।

यस चलचित्रका निर्माता तथा निर्देशक अनिल योञ्जनले गीत बाहेकका दृश्य सकेर ‘इन्डक्ल्याप’ गरिएको जानकारी दिए । चलचित्रको छायाकंन निर्धारित मितिमै सकिनुमा यसमा सङ्लग्न कलाकार र प्राविधिकको कार्य कौशलता महत्वपूर्ण रहेको उनको भनाइ छ ।

‘सहरको कथा भएकाले हामीले काठमाडौँ आसपासमा छायाकंन गरेका हौँ । दर्शकले धीरज र मिरुनाको जोडीबाट गर्ने अपेक्षालाई पूर्ण गर्ने काम गरेज छौँ’, निर्देशक योञ्जनले भने ।

‘कुस्ती एक अर्कासँग छुट्टिएर बस्न नसक्ने र सँगै रहन पनि नसक्ने मनका भावनाहरूको मधुर यात्रा हो । भावनात्मकतासँगै हास्यरसले भरिएको यो चलचित्र प्रेम कथानक कमेडी ड्रामा हो,’ उनले भने ।

अनुषा सिनेमावुड पिक्चर्स प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रमा अभिनेता धीरज मगर, मिरुना मगर, पुस्कर गुरुङ, लुनिभा तुलाधर, भोलाराज सापकोटा, दीकिला शेर्पा, रवीन्द्र झा, पुस्कर गुरुङ, राजाराम पौडेल, किरण केसी, लुनिभा तुलाधर, सूर्यमान लिम्बू, अरविन गुरुङ, रजनी गुरुङ, सुवर्ण थापा लगायतका कलाकारको अभिनय रहेको छ ।

चर्चित भारतीय रियालिटी शो एमटीभीको ‘स्प्लिट्सभिल्ला’ सिजन ५ बाट चिनिएकी दिकिला शेर्पाको यो डेब्यु नेपाली सिनेमा हो ।

प्रेम गरेता पनि स्वभाव भिन्नताले एकसाथ रहन सङ्घर्ष गर्न बाध्य जोडीको कथालाई चलचित्रमा दर्शकले देख्न पाउने निर्देशक योञ्जनले बताएका छन् ।

उनले चलचित्रको छायाकंनकै क्रममा अन्तर्राष्ट्रिय वितरकबाट फिल्मको प्रदर्शन अधिकार खरिदका प्रस्तावहरू आइरहेको बताउदै छिटै विदेश प्रदर्शन तय गर्ने जानकारी दिए ।

धिरज र मिरुनाको जोडीलाई एकसाथ पर्दामा हेर्ने नेपालसँगै प्रवासी नेपाली पनि उत्साहित छन् । निर्देशक योञ्जनका अनुसार केही देशमा सिनेमाको प्रदर्शन अधिकार सम्बन्धी छलफल अन्तिम चरणमा छ ।

चलचित्रमा उमङ्ग शाहीको छायाकंन, मित्रदेव गुरुङको सम्पादन, दीपक शर्मा, अनिल योञ्जन, कल्याण सिंहको सङ्गीत, शिशिर खातीको नृत्य निर्देशन रहेको छ ।

यस चलचित्रलाई काठमाडौँ रीच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्ट तथा मोफसल एफडी कम्पनिले प्रदर्शनका लागि वितरण गर्ने छन् ।


ताजा खबर

No comments to show.