‘खेल’मार्फत सशक्त उपस्थिति देखाउँदै समापिका गौतम

काठमाडौं । नेपाली सस्पेन्स थ्रिलर चलचित्र ‘खेल’मा समापिका गौतमलाई दर्शकले देख्नेछन् । यही चलचित्रमार्फ गौतमले ठूलो पर्दामा डेब्यु गरेकी हुन् ।

थिएटरबाट सेतो पर्दामा आएकी गौतम ‘खेल’लाई आफ्नो अभिनय यात्राको महत्वपूर्ण मोड मान्छिन् । पर्दामा देखिन पाउनु उनको लागि रोमाञ्चक अनुभव मात्र नभई जीवन उपयोगी शिक्षाले भरिएको पल पनि हो । उनी भन्छिन्, “म पर्दामा धेरै चलचित्र कर्मीहरूलाई देख्दै हुर्किएकी हुँ । अब पर्दामा आफूलाई देख्दा जुन अनुभूति भयो, त्यो शब्दमा भन्न गाह्रो छ ।”

थिएटर र चलचित्रबीच केही टेक्निकल भिन्नता भए तापनि, उनले दुवै माध्यमलाई समान रूपमा आत्मसात् गरेकी छन् ।

चलचित्रमा उनले ‘ईसा’ नामकी युवतीको भूमिका निर्वाह गरेकी छन्, जो साथीहरूलाई माया गर्ने, उनीहरूको इच्छा विपरीत जान नसक्ने भावुक पात्र हुन् । समापिकाले आफूलाई पनि केही हदसम्म ईसासँग मिल्ने बताउँछिन् । “हाम्रो केही स्वभाव मिल्छन्, तर केही भिन्नता पर्दामा हेर्न पाइन्छ,“ उनी भन्छिन् ।

टेलिभिजन हेरेर कलाकार बन्ने रहर जागेको बताउने समापिकाको अभिनय यात्रा एसएलसीपछि थिएटर प्रवेशसँग सुरु भएको हो ।

‘खेल’ वैशाख १२ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ । नेपाली लोककथा, परम्परा, अध्यात्म र थ्रिलरको सम्मिश्रणमा आधारित यस चलचित्रमा अध्ययनका लागि काठमाडौंको होस्टेलमा बसेका केही साथीसँग सम्बन्धित कथा प्रस्तुत गरिएको छ ।

अनुराग प्रधान र आस्था श्रेष्ठद्वारा निर्देशित ‘खेल’ सिरुपाते कट्स प्रालिको ब्यानरमा निर्माण भएको हो ।

लुइसराज महर्जन र आशिषराज महर्जन निर्माता रहेको यो चलचित्रमा सुरक्षा पन्त, मोनिका थापा, हेना नगरकोटी, निकिता आचार्य, मिथिला शर्मा, सरिता गिरी र भोलाराज सापकोटाको पनि अभिनय रहेको छ ।


ताजा खबर