ऋतिक रोशनको ‘फाइटर’को ओपनिङ ‘वार’ र ‘ब्याङ ब्याङ’ भन्दा कम

यो वर्षको बलिउडको पहिलो फिल्म ‘फाइटर’ हिजो बिहीबारबाट रिलिज भएको छ ।

सिद्धार्थ आनन्दको निर्देशनमा बनेको बलिउडको पहिलो एरियल–एक्सन फिल्म भनिएको ऋतिक रोशन र दीपिका पादुकोण स्टारर ‘फाइटर’ विश्वभर रिलिज भएसँगै यसको व्यापार र समीक्षा पनि आउन थालेको छ ।

समीक्षकदेखि दर्शकबाट फिल्मको तारिफ भइरहेको छ । फाइटरमा ऋतिक र दीपिकाको एक्शन निकै रुचाइएको छ । यो फिल्म भारतीय राष्ट्रवादकै वरपर घुमेको देखिन्छ ।

यसैबिच, अब ऋतिक रोशन, दीपिका पादुकोण र अनिल कपुर अभिनीत यस फिल्मको पहिलो दिनको बक्स अफिस कलेक्शन सार्वजनिक भएको छ । जसमा फाइटरले पहिलो दिनबाटै व्यापारमा कमाल देखाउन सकेको छैन । २०२३ का धेरै ठुला फिल्मको तुलनामा फाइटरको ओपनिङ झनै सानो रहेको छ ।

सैकनिल्ककाअनुसार ऋतिक रोशन, दीपिका पादुकोण र अनिल कपुरको फिल्म फाइटरले पहिलो दिन २५ करोडको ओपनिङ गरेको छ । यी वर्तमान अनुमानित तथ्याङ्क हुन्, जुन भविष्यमा परिवर्तन पनि हुन सक्छन् ।

तर, यस्तो अवस्थामा ऋतिक रोशनको अघिल्लो एक्शन फिल्म वार र ब्याङ ब्याङको तुलनामा फाइटरको ओपनिङ सानो मानिएको छ । किनभने, वारले पहिलो दिन ५३ करोडको ओपनिङ गरेको थियो भने बैंग ब्याङले पहिलो दिन २७ करोड कमाएको थियो ।

फाइटर अघि सिद्धार्थ आनन्दले निर्देशन गरेका पठानले पहिलो दिन बक्स अफिसमा ५० करोडभन्दा बढीको ओपनिङ गरेको थियो ।


ताजा खबर