काठमाडौं । सन् २०१६ मा रिलिज भएको चर्चित बलिउड चलचित्र ‘सनम तेरी कसम’ पुनः रिलिज भएपछि बक्स अफिसमा धमाकेदार कमाइ गरिरहेको छ । यस सिनेमाले पुनः रिलिजमा ३४.२९ करोडको कलेक्सन गर्दै सबैभन्दा धेरै कमाउने रि-रिलिज चलचित्रहरूमध्ये एक बन्न सफल भएको छ । तर, ‘सनम तेरी कसम’को अपार सफलतासँगै यसको सिक्वेलबारे विवाद उत्पन्न भएको छ ।
निर्देशक जोडी राधिका राव र विनय सप्रुले केही समय अघि ‘सनम तेरी कसमः २’ निर्माण गर्ने घोषणा गरेका थिए । तर, चलचित्रका निर्माता दीपक मुकुटले उनीहरूको घोषणाप्रति असन्तुष्टि जनाएका छन् । मुकुटका अनुसार सिनेमाको सम्पूर्ण अधिकार आफ्नै स्वामित्वमा रहेकोले बिना उनको सहमति फिल्मको सिक्वेल बन्न नसक्ने दाबी गरेका छन्।
दीपक मुकुटले बलिउड हंगामासँगको कुराकानीमा भने, “सनम तेरी कसम फिल्मको निर्माता म नै हुँ, र यसको बौद्धिक सम्पत्ति (आईपी) अधिकार मेरो हो । त्यसैले सिक्वेल, प्रिक्वेल वा रिमेक बनाउन पाउने अधिकार मसँग मात्रै छ । सेप्टेम्बर २०२४ मा मैले अभिनेता हर्षवर्धन राणेसँगै यसको सिक्वेल घोषणा गरिसकेको थिएँ । तर, निर्देशकहरूले मसँग कुनै छलफल नगरी फिल्मको सिक्वेलबारे अन्तर्वार्ता दिइरहनु उचित होइन । अहिले फिल्म लेखन चरणमा छ, र यसको निर्देशक को हुने भन्ने टुंगो लागिसकेको छैन ।”
सिनेमाका निर्माता मुकुटका अनुसार अभिनेता हर्षवर्धन राणे नै सिक्वेलका लागि निश्चित भइसकेका छन्, तर मुख्य अभिनेत्रीको छनोट अझै बाँकी रहेको छ ।
सन् २०१६ मा पहिलो पटक रिलिज भएको ‘सनम तेरी कसम’ ले १६.०३ करोड कमाएको थियो । तर, यसपटक पुनः रिलिजमा फिल्मले ३४.२९ करोडको बक्स अफिस कलेक्सन गर्दै उल्लेखनीय सफलता हात पारेको छ । यो उपलब्धि सिनेमालाई एक विशेष स्थानमा पुर्याउन सफल भएको छ।